लोक सञ्चारकर्मी नेपालद्वारा १४ मौलिक तीज गीत सार्वजनिक, गायिका लक्ष्मी न्यौपाने सम्मानित

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं — राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले एकै मञ्चबाट १४ वटा मौलिक तीज गीत सार्वजनिक गरेको छ। राष्ट्रिय नाचघर, जमलमा आयोजित कार्यक्रममार्फत ती गीतहरूको पोस्टर र म्युजिक भिडियो एकसाथ विमोचन गरिएको हो।

 

कार्यक्रममा सभापति तथा संस्थाका अध्यक्ष चन्द्रमणि गौतम, संस्थापक अध्यक्ष गोविन्द गिरी, प्रतिनिधिसभा सांसद सोविता गौतम, चर्चित गायकगायिका राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सीता थापा, टिका पुन, मन्जु थापा लगायतका कलाकारहरू उपस्थित थिए।

 

विमोचन गरिएका गीतहरूमा भगवान भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौं’, भीमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’, भीमकुमार ओझाको ‘नौगेडी’, कस्तुप पन्तको ‘पापी तीज भाग–२’, सचिन भट्टराईको ‘जय जय शिव भोला’, खुश्बु सुनारको ‘ए आमा’, यामप्रसाद निउरेको ‘चोली फाटेको’, गोविन्द पौडेलको ‘माछा मासु केही खाँदिन’, मुना सुवेदी तिवारिको ‘मेरो त देशै माइती भयो’, ‘माया पार्देको चाहिँदैन रानी हार’, मदन ढकालको ‘माइतीको दैलो’, विजय अनुरागीको ‘ए मैया’, र सन्जु न्यौपानेको ‘निलो आकाशैमा बादलु’ रहेका छन्।

 

सांसद सोविता गौतमले पछिल्लो समय गीतसंगीतमा विकृति र अश्लीलता बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले सर्जकहरूलाई मौलिकता र सामाजिक उत्तरदायित्वमा ध्यान दिन आग्रह गर्दै भनिन्, “भ्युजको पछि नलागी दीर्घकालीन सोचका साथ सर्जना गरौं।”

 

कार्यक्रममा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपानेलाई लोक संगीतमा पुर्‍याएको योगदानको सम्मानस्वरूप “मौलिक गायन सम्मान” प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै न्यौपानेले भने, “समयसँगै परिवर्तन हुनु पर्छ भन्ने हुन्छ, तर मौलिकता र लोक परम्परालाई परिवर्तन गर्नुहुँदैन।”

 

गायक राजु परियारले लोक रस नबिर्सिन सर्जकहरूलाई सुझाव दिए भने संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालले साइबर ब्युरोको चपेटामा पर्न नचाहने हो भने अश्लीलताभन्दा मौलिकतामा जोड दिनुपर्ने बताए।

 

उनले मिडियाको भूमिकालाई पनि महत्वपूर्ण बताउँदै भने, “मिडियाले प्रचार नगरेका मौलिक गीतहरू गुम्सिएर जान सक्छन्, त्यसैले मिडियाले पनि साथ दिनुपर्छ।”

 

अन्य वक्ताहरू गायक बद्री पंगेनी, गायिका शर्मिला गुरुङ र मन्जु थापाले पछिल्लो तीज गीतहरूमा मौलिकता हराउँदै गएको भन्दै चासो व्यक्त गरे।

 

संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले मौलिक गीत सिर्जनामा लागिरहेका कलाकारहरूलाई प्रेरणा दिने उद्देश्यले १४ वटा मौलिक तीज गीत सामूहिक रूपमा सार्वजनिक गरिएको बताए। उनले आगामी दिनहरूमा यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिने जनाए।

 

महिला विभाग प्रमुख सविता पोखरेलको संयोजनमा सम्पन्न कार्यक्रममा सचिव कमल सरगमले लोक संगीतको मौलिकता जोगाउन सबै सर्जक जिम्मेवार हुनुपर्ने बताए।

 

संस्थापक अध्यक्ष गोविन्द गिरीले भने, “हामी गृह मन्त्रालयमा विकृति फैलाउने गीतको बन्देज माग्न मात्र होइन, संगीत सेन्सर बोर्डको अवधारणाबारे सुझाव राख्न पनि गएका थियौं।”

nepalijanatakhabar

समबन्धित समाचार