काठमाण्डौ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई स्पष्ट रूपमा राजीनामा दिएर पार्टी छाड्न सुझाव दिएका छन्।
खनालले पार्टीको नीति र निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै अध्यक्ष नेपालले उनलाई अब पार्टीमा बस्ने नैतिक अधिकार नरहेको बताए।
शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “आजभोलि त एआईको जमाना हो, नबोलेको कुरा पनि बोलेजस्तो आउँछ। तर यदि त्यो उहाँले साँच्चिकै भन्नुभएको हो भने, उहाँलाई पार्टीबाट बिदा गर्नुपर्छ। अब पार्टीमा बस्ने ठाउँ छैन। नैतिक रूपमा पनि उहाँको कुनै आधार छैन। त्यसैले अहिले नै राजीनामा दिएर जानु राम्रो हुन्छ।”
यसअघि एक टेलिभिजन अन्तर्वार्तामा खनालले एमाले विभाजन गर्नु गल्ती भएको र एकीकृत समाजवादी बनाउनुको औचित्य प्रमाणित हुन नसकेको बताएका थिए। सोही अभिव्यक्तिका बारेमा प्रतिक्रिया दिँदै नेपालले ती टिप्पणीहरू पार्टी अनुशासन र निर्णयको उल्लंघन भएको बताए।
“उहाँ त संस्थागत निर्णयको लगातार उल्लंघन गर्ने व्यक्ति हो। त्यसमा नम्बर वान नै भन्नुपर्छ। त्यसैले उहाँका भनाइहरूको खासै अर्थ छैन,” अध्यक्ष नेपालले थपे।
उनले संविधान र कानुनले कसैलाई पार्टी परिवर्तन गर्न रोक्ने व्यवस्था नरहेको समेत बताए। “यदि संविधान र कानुनले रोकेको छैन भने त्यो व्यक्तिगत अधिकारकै कुरा हो,” उनले प्रष्ट पारे।
नेपालले अहिले पार्टीको प्राथमिकता संगठन सुदृढ बनाउने रहेको भन्दै वामपन्थी र लोकतान्त्रिक शक्तीसँग विचार र मुद्दा मिल्ने आधारमा सहकार्य गर्दै अघि बढ्ने बताए।
“हामी अहिले पार्टीलाई मजबुत बनाउनेतर्फ लागिरहेका छौँ। जससँग विचार र इस्यु मिल्छ, तिनीसँग सहकार्य गरेर अघि बढ्ने हो,” उनले भने।
एकीकरणको तत्काल योजना नभएको तर सहकार्यको मोर्चा बनाउन सकिने उनले संकेत गरे। “अहिले एकीकरणको कुरा छैन, तर सहकार्य र मोर्चाको सम्भावना भने छ,” अध्यक्ष नेपालको भनाइ थियो।
प्रतिक्रया दिनुहोस्