काठमाडौं साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा, आराधना र दर्शन गर्ने भक्तजनको ठूलो भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना तथा दिन मानिने भएकाले बिहानै स्नान गरी शिवालयमा पूजा तथा दर्शन गरे मनोकामना पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
विवाहित महिलाले श्रीमानको दीर्घायुको कामना र अविवाहित महिलाले योग्य जीवनसाथीको प्राप्तिका लागि साउने सोमबारको व्रत बस्ने परम्परा छ। वाग्मतीको मुहान सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड पनि बिहानैदेखि देखिन्छ। आइतबार राति नै सुन्दरीजल पुगेर बसेका भक्तजन बिहान स्नान गरी काँवरमा जल भरेर पशुपतिनाथमा चढाउँछन्।
यो जल अर्पण गर्ने परम्परालाई “बोल बम” भनिन्छ। पहेंलो वस्त्रधारी भक्तजन काँवरसहित हातमा घडा बोकेर, नाङ्गो खुट्टा “बोल बम” भन्दै सुन्दरीजलदेखि पशुपतिनाथसम्म यात्रा गर्छन्। यस क्रममा गोकर्णेश्वर महादेवसहित बाटामा पर्ने अन्य शिवालयमा पनि जल अर्पण गर्ने चलन छ।
भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीको शुद्ध जल, गाईको दूध र विभिन्न पूजा सामग्री अर्पण गर्ने परम्परा छ। साथै, वर्षमा एकपटक साउन महिनामा घर-घरमा वैदिक रुद्राभिषेक गर्ने धार्मिक परम्परा नेपाली समाजमा लामो समयदेखि चल्दै आएको छ।
प्रतिक्रया दिनुहोस्