काठमाडौँ: राष्ट्रिय गौरवको आयोजना, माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले आगामी साउन ३१ गते शनिबार जलाशय सफा गर्ने भएको छ। आयोजनाले आज एक सार्वजनिक सूचना जारी गर्दै सफाइको क्रममा नदीको बहावमा अस्वाभाविक उतार–चढाव आउने भएकाले तामाकोशी नदी किनारमा उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
दोलखा जिल्लाको विगु गाउँपालिका–१ मा अवस्थित ४५६ मेगावाट क्षमताको यस आयोजनाले सो दिन बिहान ५ः०० बजेदेखि राति ८ः०० बजेसम्म जलाशय सफाइ गर्ने तालिका तय गरेको छ।
सूचना अनुसार, उक्त अवधिमा तामाकोशी बाँधको तल्लो भागदेखि सुनकोशी नदीको दोभानसम्म पानीको सतह लगातार घटबढ हुनेछ। यसबाट प्रभावित हुन सक्ने क्षेत्रहरूमा लामाबगर, छतछत, गोंगर, जगत, टुनीटार, जामुने, भोर्लें, सिंगटी, नयाँ पुल, किर्नेटार र खिम्तीसमेतका नदी किनार पर्छन्।
आयोजनाले सम्भावित दुर्घटनाबाट जोगिन सो समयमा नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, पशु लैजाने, गिटी–बालुवा निकाल्ने वा सवारी साधन तार्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न र नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
त्यसैगरी, नदी किनारमा गरिने दाहसंस्कार वा अन्य धार्मिक संस्कारहरू पनि अत्यन्त सावधानीपूर्वक र सतर्कताका साथ मात्र गर्न आयोजनाले अनुरोध गरेको छ।
प्रतिक्रया दिनुहोस्