काठमाण्डौ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यसबारे धेरै बहस गर्नुपर्ने आवश्यक नरहेको बताएकी छन्।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले भनिन्,
“म नेकपा एमालेकै कार्यकर्ता हुँ। म पनि आलोचनाबाट मुक्त छैन, कोही पनि हुँदैन। यसमा धेरै चर्चा गर्नुपर्ने छैन।”
राजतन्त्र र गणतन्त्र फरक प्रणाली भएको प्रष्ट पार्दै उनले थपिन्,
“राजा व्यक्ति हुन्, तर राष्ट्रपति पद हो। यो निश्चित अवधि लिएर हुन्छ। जनताको छोरा–छोरी जोसुकैले निर्वाचनमार्फत राष्ट्रपति बन्न सक्छन्। कार्यकाल सकेपछि आफ्नै काममा फर्किन सक्छन्।”
भण्डारीले पार्टीले कुनै जिम्मेवारी नदिए पनि आफू अझै एमालेकै संगठित सदस्य भएको स्पष्ट पारिन्।
यद्यपि, उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरे पनि एमालेले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ।
यसबारे औपचारिक जानकारी आफूलाई नभएको दाबी गर्दै उनले भनिन्,
“म ४५ वर्षदेखि नेकपा एमालेकी संगठित सदस्य हुँ। विराटनगरमै शपथ खाएकी हुँ, मोरङ जिल्लामै।”
राष्ट्रपति पदमा निर्वाचित हुनु पनि पार्टीको निर्णयका कारण भएको भन्दै उनले कार्यकाल सकिएपछि पुनः राजनीतिमा फर्किएको दोहोराइन्।
“हिजो पनि म एमालेकै हैसियतमा राष्ट्रपति निर्वाचित भएकी हुँ। पार्टीले निर्णय गरेर पठाएको थियो। आज पनि म एमालेमै छु। कसैले विवाद उठाए होलान्, तर पार्टीको औपचारिक धारणा के हो, मलाई जानकारी छैन। म अहिले केन्द्रमा छैन,” उनले भनिन्।
नेपाली कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटबारे उनले भनिन्,
“उहाँ पनि मोरङकै हुनुहुन्छ, हामी पनि त्यहीँ जन्मेर हुर्किएका हौँ। सामान्य भेटलाई ठूलो हाउगुजी बनाउनुपर्ने ठान्दिनँ। देशका समस्याबारे केन्द्रीय नेताहरूले छलफल गर्नु सकारात्मक कुरा हो।”
पूर्वराष्ट्रपति भण्डारीले तत्काल बाम एकताको बलियो आधार नदेखेको तर असम्भव भने नभएको प्रष्ट पारिन्।
“सम्भावना शून्य छैन, तर अहिले बलियो आधार पनि देखिँदैन,” उनले भनिन्।
प्रतिक्रया दिनुहोस्