मलेसिया जनउद्धार केन्द्र मलेसियाले अगस्ट १७ मा अध्यक्ष केसु थापाको नेतृत्वमा तीज विशेष (चेलीबेटीलाई दर खुवाउने) कार्यक्रम आयोजना गरेको थियो। नेपाली महिलाहरूको महान पर्व हरितालिकामा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहँदा कार्यक्रम निकै भव्य र उत्साहजनक बनेको थियो।
यसपटक पेनाङ राज्य स्थित Sunshine Square Penang मा सम्पन्न भएको हो। आयोजना गरिएको तीज विशेष सांगीतिक तथा दर खाने कार्यक्रममा सहभागीहरूले परदेशमै नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्दै उल्लासपूर्वक तीज मनाए। नेपालीपनलाई जगेर्ना गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा दिदीबहिनीहरूले परम्परागत पोशाकमा सजिएर तीजका भाकामा नाचगान प्रस्तुत गर्दा सम्पूर्ण माहोल झन् रमाइलो बनेको थियो।
कार्यक्रम केवल गीत–संगीतमा मात्र सीमित भएन, आपसी भेटघाट, दर खाने अवसर र शुभकामना आदानप्रदानले पनि यसको महत्व थपिएको थियो।
विशेष कार्यक्रममा नेपाली राजदूतावास मलेसियाबाट यसोदा अधिकारी, एकता अवस्थी, निर्मला के.सी. आचार्यलगायतको उपस्थिति थियो। त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले पनि सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिंदै अध्यक्ष केसु थापाले भने, “तीज हाम्रो संस्कृति मात्र होइन, हाम्रो पहिचान पनि हो। परदेशमा रहेर पनि हामीले हाम्रो मौलिकता जोगाउन सके भविष्यका पुस्ताले गर्वका साथ ‘हामी नेपाली हौँ’ भन्न सक्छन्।”
कार्यक्रममा सहभागीहरूले दरका परिकार—दुध, दही, मिठाई, सेल रोटी, मासु आदि स्वाद चाख्दै घर र परिवारको सम्झना ताजा पारे। धेरैले परदेशमै बसेर पनि आमा–बुबाको माया, गाउँघरको वातावरण र नेपाली संस्कृतिको अनुभव गरेको प्रतिक्रिया दिएका थिए।
प्रतिक्रया दिनुहोस्