माल्टा । युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व अपरिहार्य भएको बताएका छन्।
एनआरएनए माल्टा र तामाङ समाज माल्टाले संयुक्त रूपमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा बोल्दै घिसिङले राजनीति सही दिशामा नचलेसम्म मुलुकले छलाङ मार्न नसक्ने स्पष्ट पारे।
उनले छिटो आर्थिक रुपान्तरण गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन नेतृत्व र नीतिमा ठूला सुधार आवश्यक रहेको बताए। ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गर्दा पाएको अनुभवका आधारमा सही नेतृत्व नहुँदासम्म देश अघि बढ्न नसक्ने निष्कर्षमा आफू पुगेको बताए।
“आज नेपालका करिब हरेक घरमा बिजुली पुगेको छ। तर केवल बत्तीको उज्यालोले मात्र पुग्दैन, देशका हरेक क्षेत्रमा उज्यालो फैलिनुपर्छ। सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र समृद्ध नेपाल बनाउनकै लागि उज्यालो नेपाल अभियान सुरु गरिएको हो,” घिसिङले भने।
उनले स्वदेश वा विदेश, पार्टीभित्र वा बाहिर रहेका सबैले मिलेर देशमा सक्षम नेतृत्व जन्माउनुपर्ने आवश्यकता औंल्याए।
“अहिलेको नेतृत्व सच्चिनै पर्छ, यदि सच्चिएन भने नयाँ नेतृत्व पार्टीभित्र वा बाहिरबाट आउनुपर्छ,” उनले जोड दिँदै भने, “Right man in the right place at the right time नभएसम्म प्रगति सम्भव छैन।”
त्यसैगरी उनले प्रवासमा रहेका नेपालीलाई पनि नेपालको रूपान्तरणमा आफ्नो भूमिका के हुन सक्छ भनेर सोच्न आग्रह गरे। “नेपालमा परिवर्तनका लागि तपाईंहरूको योगदान अत्यन्तै महत्त्वपूर्ण छ,” उनले भने।
साथै उनले सर्वोच्च अदालतले विदेशमा कार्यरत नेपालीलाई मतदान गर्न दिन आदेश गरिसकेको उल्लेख गर्दै यसका लागि चाँडै कानुन बनाउनुपर्ने बताए। “यसलाई छिट्टै कार्यान्वयन गर्न हामी जोड दिनेछौँ, यसमा तपाईंहरूको साथ र दबाब आवश्यक छ,” घिसिङले भने। यो समाचार रातो पाटीमा प्रकाशित छ
प्रतिक्रया दिनुहोस्