पर्वत जलजला समाज कतारले भव्य रूपमा मनायो दोस्रो वार्षिकोत्सव कलाकारले तताए माहोल…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- पर्वत जलजला समाज कतारले आफ्नो दोस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष देवराज कार्कीको सभापतित्व, पर्वत जलजलामै जन्मिएर हाल युकेलाई कर्मथलो बनाउदै आएका सामाजिक व्यक्तित्व एवं सफल व्यवसायी दधिराम आचार्यको प्रमुख आतिथ्यतामा समाजले दोस्रो वार्षिकोत्सव सङ्गै बिजया दशमी एवं शुभ दिपावली विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

शुक्रबार सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा दिउँसो करिब १ बजे दिप प्रज्वलन सङ्गै व्यानर अनावरण गरि केक काट्दै राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा अतिथीहरु सहित उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै समाजका वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए भने कलाकार सृष्टि श्रेष्ठ (सिम्रन) ले नेपालमा नेवारी समुदायमा अत्यन्तै प्रचलित कुमारी नृत्यद्वरा स्वागत गरेकी थिइन ।

दोहामा स्थापित विभिन्न संघ संस्था, बैचारिक संस्था, जिल्ला तथा जातीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहित विशिष्ट सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, पत्रकारहरु र दोहाबासी नेपालीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा नेपाली महिला समाजकी अध्यक्ष माया के.सी, सामाजिक व्यक्तित्व सागर नेपाल, ठाकुर कुमार परियार लगायत अन्य थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य राख्ने अवसर पाएका थिए । कार्यक्रममा बोल्ने अधिकांशले पर्वत समाज कतार र पर्वत जलजला समाज कतार किन र कसरी अलग भयो भन्ने विषयमा जान्ने चासो राखेका थिए भने उनिहरुले समाज फुटाएर समस्या समाधान नहुने भन्दै आगामी दिनमा दुबै संस्था एक ठाँउमा उभिएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह समेत गरेका छन ।

समाजका सचिव बावुराम नेपालीले शुभकामना मन्तव्य र साँस्कृतिक प्रस्तुतिको राम्रो तालमेल मिलाएर सहजीकरण गरेका कार्यक्रममा सचिव आफैले समाजको वर्षभरिको कार्यप्रगती प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा अतिथि कलाकारको रुपमा नेपाल बाट आएकी मेरो भ्वाइस युनिभर्स सिजन २ मा तेस्रो स्थान हासिल गर्न सफल लोकप्रिय गायिका जुनु प्रसाईं र युके बाट आएका पर्वते राजा भनेर चिनिने लोक तथा दोहोरी गायक आर.सी पौडेल सहित कतारमा रहेर नेपाली गीतसङ्गीत लाई निरन्तरता दिई रहेका कलाकारहरु गायिका रेश्मी सेन्चुरी, तारा वि.सी, नृत्याङ्गाना दिपा खाती, रोजिना गुरुङ र बादुरी बादक सोम परियारको प्रस्तुतिले माहोल सङ्गीतमय बनाएको थियो ।

कार्यक्रममा गायिका प्रसाईंले आफू कतारमै श्रमिक भएर काम गर्दै गर्दा मेरो भ्वाइस युनिभर्सले दिएको अवसर र सम्पुर्ण कतारबासी नेपालीहरुको साथ सहयोगले आफू यो स्थान सम्म आइपुगेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रममा सहभागी हुने वातावरण मिलाई दिएकोमा आयोजक समिति प्रति आभार व्यक्त गरिन । त्यस्तै उनले मेरो भ्वाइस युनिभर्स सिजन २ को यात्रा भरिको अनुभव सुनाउँदै सुरुमा तिम्रो पाउहरुमा भन्ने गीत गाएर दर्शकहरुलाई आफू तिर आकर्षित पारिन भने एउटा सपना छ, भन्छन कोहि जिन्दगी यो लगायत आधा दर्जन गीत गाएर हललाई जुरुक्क उठाई दिएकि थिइन ।

कार्यक्रमको अन्तमा स्टेज चढेका पर्वते राजा गायक पौडेलले वैदेशिक यात्राको बिसाउने चौतारी कतार बनेको बताउँदै आफ्नो वैदेशिक यात्राको रमाइलो खिस्सा सुनाउँदै नेपाली अङ्ग्रेजी मिक्स गित गाएर उपस्थित सबैलाई हसाए । उनले थोरै गीतहरु गाए पनि दर्शकहरुलाई निकै आकर्षित बनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, अतिथि कलाकारद्वय प्रसाईं र पौडेल लाई दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्रद्वारा एवं कार्यक्रममा प्रस्तुति दिने सबै कलाकार सङ्गै पत्रकारलाई पारिश्रमिक सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले समाजले गरेको सामाजिक कार्यहरुको खुलेर प्रशंसा गरे । उनले आफू वैदेशिक रोजगारीमै रहेर दशै मनाउन घर जान लागेको बेला संजोकले आफू जन्मिएको माटो पर्वत जलजला समाजको दोस्रो वार्षिकोत्सव मनाउने अवसर मिलेको र प्रमुख अतिथिको रुपमै सहभागी हुन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । आचार्यले थप बोल्दै पर्वत समाज कतार र पर्वत जलजला समाज कतार विचको समस्या आफुलाई थाहा नभएको र त्यस्तै कुनै समस्याको कारण समाज अलग भएको हो भने त्यसको समाधान र एकताको लागि आफुले पहल गर्ने पनि बताए भने नितान्त सामाजिक सेवाको भावनाले स्थापना भएका पर्वत जलजला समाज जस्ता संघ संस्था भित्र राजनीतिक नगर्न र गर्न नहुने बताए ।

अन्त्यमा सभापति कार्कीले सामाजिक संजाल र कार्यक्रममा बोल्ने वक्ताहरूले चासो देखाएको विषयलाई सम्बोधन गर्दै पर्वत जलजला समाज कतार पर्वत समाज कतारको इकाई नभएर छुट्टै संस्था भएको प्रष्ट पारे भने आफ्नो निमन्त्रणा लाई सहर्ष स्वीकार गरि उपस्थित भएर कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार