काठमाडौं । जेनजी पुस्ताका युवाहरूका गतिविधि फेरि सक्रिय भएपछि काठमाडौंमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
जेनजी आन्दोलनका सहभागी युवाहरूले “विद्रोहमा दमन गर्नेहरूलाई पक्राउ गर” र “संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेज गर” भन्ने माग गर्दै सडकमा उत्रिएपछि प्रहरीले सतर्कता बढाएको हो ।
काठमाडौंका मुख्य चोक, सार्वजनिक स्थल र सरकारी कार्यालय वरपर प्रहरीको तैनाथी बढाइएको छ । माइतीघर–भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड राखेर प्रहरी परिचालन गरिएको छ, जुन सामान्यतया खुला हुने बाटो हो ।
जेनजी युवाहरूले सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निरन्तर दबाब दिइरहेका छन् । उनीहरूले माइतीघर मण्डलामा ओली, लेखक, आरजु राणा देउवा, माधवकुमार नेपाल, र महेश बस्नेतका तस्वीर राखी उनीहरूमाथि कानूनी कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
यो घटनाक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले गएराति अबेरसम्म गृहमन्त्री, गृहसचिव र चारै सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा मूल्याङ्कन सम्बन्धी बैठक गरेकी थिइन् । बैठकमा प्रहरी अधिकारीहरूले केन्द्रीय सुरक्षा समितिको लिखित आदेश र स्पष्ट निर्देशन मागेका थिए ।
यसैबीच, जेनजी समूहका प्रतिनिधिहरूले मंगलबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको राजीनामा माग्दै औपचारिक निवेदन दर्ता गराएका छन् ।
प्रतिक्रया दिनुहोस्