काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आवश्यक तयारी नगरेका कारण तोकिएको समयमा चुनाव हुन नसक्ने दाबी गरेका छन्।
बुधबार पार्टीको केन्द्रीय कमिटीको १०औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, चुनाव हुनेवाला छैन, किनभने सरकारले चुनाव गराउने बाटो नै समातेको छैन।
संविधानअनुसार अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव गराउनुपर्ने म्यान्डेट पाएको छ भने निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि मिति तय गरिसकेको छ।
ओलीले जेनजी आन्दोलनको नाममा योजनाबद्ध रूपमा संसद् विघटन गरिएको आरोप लगाउँदै भने, “असंवैधानिक तरिकाले संसद् विघटन गर्नुहुँदैन भन्ने फैसला गर्ने पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफैंले अहिले असंवैधानिक ढंगले संसद् भंग गरी प्रधानमन्त्री भएकी छन्।”
उनका अनुसार जेनजी आन्दोलनका मूल मागहरू— सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल स्वतन्त्रता—सँग संसद् विघटनको कुनै सम्बन्ध छैन। “जेनजीहरूले पनि स्पष्ट रूपमा भनेका छन्, प्रधानमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद् भंग हाम्रो माग होइन,” ओलीले जोड दिए।
अध्यक्ष ओलीले एमालेको काँधमा अहिले “असाधारण जिम्मेवारी” आएको उल्लेख गर्दै पार्टीलाई सुदृढ पार्दै दृढताका साथ अघि बढ्न आह्वान गरे।
प्रतिक्रया दिनुहोस्