दोहा,कतार- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले नसिम मेडिकल सेन्टर सङ्गको सहकार्यमा स्तन क्यान्सर सम्बन्धित सचेतना मुलक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
दोहाको सी रिङ्ग रोडमा रहेको नसिम मेडिकल सेन्टरमा सम्पन्न भएको कार्यक्रममा कतारमा रहँदै आएका नेपाली महिला दिदिबहिनीहरुको उपस्थितिमा स्तन (ब्रेस्ट) क्यान्सरको समयमै पहिचान, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे सचेत गराउदै विशेष जानकारी गराइएको थियो ।

एनसीसी कतारकी महिला उपाध्यक्ष टौमाया गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रम कतारमा नेपाली समुदायकी प्रेरणा बन्न सफल व्यवसायी यसमिन नाजले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रममा डा. नुरुलिसा पलाथुरले स्तन (ब्रेस्ट) क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना तथा चिकित्सा सम्बन्धि जानकारी गराउनु भएको थियो । डा. पलाथुरले प्रारम्भिक लक्षण पहिचान, स्क्रीनिङको आवश्यकता तथा समयमै उपचार गराउदा हुने फाइदा बारे अत्यन्तै महत्त्वपुर्ण जानकारी गराउनु भएको थियो ।
उत्साहका साथ ५३ जनाको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूको सक्रियता र उत्साह अभिवृद्धि गर्न ६ वटा प्रश्नोत्तर कार्यक्रम पनि राखिएको थियो । जसमा छिटो र छरितो रूपमा सही उत्तर दिनेलाई विशेष उपहार वितरण गरिएको थियो भने उत्कृष्ट कार्यक्रम सहजीकरण र प्रेरणादायी प्रस्तुति प्रस्तुत गरेको भन्दै कार्यक्रम संचालिका यसमिन नाज प्रति विशेष धन्यवाद तथा सम्मान व्यक्त गरिएको थियो ।
कार्यक्रमकै क्रममा एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी र नसिम मेडिकल सेन्टरका कर्पोरेट रिलेसनसिप तथा मार्केटिङ एसिस्टेन्ट म्यानेजर आस्रफ पि बिच एउटा ऐतिहासिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ भने यो एनसीसी कतार र कतारमा रहेको कुनै पनि निजी स्वास्थ्य संस्थासँग भएको पहिलो समझदारी पत्र (MOU) हो, जसलाई नेपाली समुदायको हितमा भएको एक महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ।

उक्त समझदारी पत्र (MOU) अन्तर्गत विशेषज्ञ सेवामा ३०, सिटि स्क्यान,एमआरआईमा १५, प्याथोलोजी जाँच एक्सरे, अल्ट्रासाउन्डमा ३०, डेन्टल, डर्माटोलोजीमा १५ र कस्मेटिक टेन्टल,कस्मेटिक डर्माटोलोजी लगायतका सेवामा १० प्रतिशत छुट हुने सम्झौता भएको छ ।
कार्यक्रममा मानसिक स्वास्थ्य तथा परिवारिक सम्बन्ध सुदृढीकरण सत्र अन्तिम सत्रमा फेमिली वोन्डिङ तथा मेन्टल स्ट्रेस अवार्नेस (Mental Stress Awareness) विषयक प्रस्तुति फेमिली वोन्ड कतारकी फाउन्डर आलिया मसोदीले प्रस्तुत गर्नु भएको थियो । उहाँले भावनात्मक समन्वय, तनाव व्यवस्थापन तथा पारिवारिक समझदारीको महत्त्वबारे व्यावहारिक सन्देशहरू दिनु भयो भने अध्यक्ष पन्थीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण टिमलाई धन्यवाद दिदै सक्रिय सहभागिता जनाई कार्यक्रम सफल बनाउनु भएका ५३ जना सहभागीहरू प्रति हार्दिक आभार व्यक्त गर्नु भयो भने अध्यक्ष पन्थीले एनआरएनए एनसीसी कतारले आगामी दिनमा पनि समुदाय स्वास्थ्य, श्रमिक कल्याण तथा सामाजिक शसक्तीकरणका कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाउने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल दिइएको कमेन्ट बक्समा अवस्य लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।




प्रतिक्रया दिनुहोस्