दोहा,कतार- उत्कृष्ट साङ्गीतिक माहोल सहित गुल्मी सेवा समाज कतारको देउसी भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष मित्र वि.एसको सभापतित्व, नेपाली राजदुतावासका श्रम सहचारी प्रेम प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता, एनसीसी कतारका द्वितीय उपाध्यक्ष सन्तोष पौडेल समाजका संरक्षक, सल्लाहकारहरु, दोहामा स्थापित विभिन्न सामाजिक संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, पत्रकारहरुको विशेष उपस्थिति साथै गुल्मेली एवं गैर गुल्मेली नेपालीहरुको बाक्लो उपस्थितिमा शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

दिउँसो करिब १ बजे विधिवत रुपमा दिप प्रज्वलन, व्यानर अनावरण गरि राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै समाजका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरज चन्दले स्वागत मन्तव्य राखेका थिए भने कलाकार अंकिता खत्रीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन ।
सुरुदेखि नै धेरै साँस्कृतिक प्रस्तुति र थोरै मात्रै शुभकामना मन्तव्य राखेर समाजका सचिव कुमार राहदी मगरले सहजीकरण गरेका कार्यक्रममा प्रदेश, जिल्ला संस्था, समाजसेवी, व्यवसायी र बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिनिधि मुलक शुभकामना मन्तव्य राखेका थिए भने अधिकांशले गुल्मी सेवा समाजले परदेशमा रहदै गर्दा पनि आफ्नो देशको मौलिक पहिचान, कला, संस्कृति र परम्परालाई पुरानै शैलीमा देखाइएका साँस्कृतिक प्रस्तुतिहरुले साच्चिकै मन जितेको बताउँदै समाजले आयोजना गरेको देउसी भैलो कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रम अबधिभर नेपाल मगर संघ, शाखा कतारका कलाकारहरु जनक मगर सहितको टिम, कलाकार सुरेश परियारको टिमले देउसी भट्याउने नाच र मारुनी नृत्य, कोसेली मगर, तारा वि.सी, निरु सुवेदी लगायत झन्डै २ दर्जन कलाकारहरुले उत्कृष्ट मौलिक भेषभुषामा सज्जिएर निकै आकर्षक साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गर्दा हलको माहोलले नेपालको झझल्को महसुस भएको थियो ।
कार्यक्रममा एनसीसी कतारका द्वितीय उपाध्यक्ष सन्तोष पौडेलले कतारमा स्थापित संघ संस्थाहरु परिवर्तन हुन जरुरी रहेको बताए । उनले आयोजकले पत्र काटेर कार्यक्रममा अतिथिको रुपमा बोलाए पछि समय दिन नसक्ने भए पहिला नै जानकारी गराउनु पर्ने र आउने भए समयमै आएर अन्तिम सम्म बस्ने गरि आउन आग्रह गरे पौडेलले कार्यक्रम सुरु भए पछि कार्यक्रम संचालकले सबै अतिथिहरुको नाम पढ्ने तर अतिथि अनुपस्थित हुने गर्नाले राम्रो कार्यक्रम पनि खल्लो लाग्ने बताए भने समयमै उपस्थित नभएका अतिथिहरुलाई दोहोर्याएर आसानग्रहणको लागि नबोलाउन पनि सबै संघ संस्थाहरुलाई अनुरोध गरेका छन ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममै प्रमुख अतिथि पोख्रेलले आफु गुल्मीका धेरै व्यक्तिहरु सङ्ग परिचित भए पनि गुल्मीले आयोजना गरेका चाडपर्व विशेष कार्यक्रममा उपस्थित भएर प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउँदा गाउँमै भएको भान भएको बताए । पोख्रेलले यसरी परदेश रहेर पनि समाजले नेपाली चाडपर्व, कला संस्कृति र मौलिकताको जगेर्नाको निमित्त खेलेको अहम भुमिका प्रती अत्यन्तै खुसी लागेको बताए ।

कार्यक्रमको अन्तमा सभापति वि.एसले कार्यक्रम भव्य सफल पारिदिन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगीदाता, मिडियाकर्मी, पत्रकार, कलाकार लगायत तयारीको लागि खट्ने कार्यसमितिका सम्पुर्ण टिम प्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए भने कार्यक्रममा प्रस्तुति दिने कलाकार र अफिसियल मिडियाकर्मी लाई पारिश्रमिक सहित सम्मान गरिएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल दिइएको कमेन्ट बक्समा अवस्य लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।





प्रतिक्रया दिनुहोस्