काठमाडौं । प्रतिभाशाली गायिका तथा मोडल रितु तामाङले आफ्नो नयाँ सांगीतिक कोसेली ‘अच्छा लेकीन’ सार्वजनिक गरेकी छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा शुक्रबार एक औपचारिक कार्यक्रममार्फत उक्त गीत सार्वजनिक गरिएको हो।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको सभापतित्व थियो भने पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङ प्रमुख अतिथि रहेका थिए। साथै पूर्व सभासद धनबहादुर घले, इन्द्रेणी समाजका अध्यक्ष तथा लोकप्रिय गायक कृष्ण कँडेल, संगीतकर्मी संघ नेपालका अध्यक्ष प्रकाश कटुवाल, गायक बद्री पंगेनी, संगीतकार तथा एरेन्जर विश्वास नेपाल, निर्देशक मौसम हिमालीलगायतको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको थियो।
त्यसैगरी विभिन्न साङ्गीतिक तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू—म्हेन्दो माया कलाकार संघ नेपालका अध्यक्ष आरम्भ तामाङ, पहिलो म्हेन्दो माया गायक लेक योन्जन तामाङ, संरक्षक मर्मेन वाइबा, संस्थापक अध्यक्ष सागर एस वाइबा, पूर्व अध्यक्ष राजकिङ वाइबा, मानार्थ सदस्य सिरुङ मनाङथेन, कलाकार राम गुम्जा, निर्देशक तथा कोरियोग्राफर एमबी गुरुङ, निर्पेस मल्ल, सेनानी नानु बा. खड्का, सोभा खड्का लगायतको पनि उल्लेखनीय उपस्थिति थियो।
गीतका संगीतकार विश्वास नेपालले आफू बुबाबाट प्रेरित भई यस गीतको संगीत रचना गरेको बताए। उनले यस गीतले बुबाको सपना पूरा गर्न मद्दत गरेको र आफ्नो करिअरका लागि विशेष महत्व राख्ने उल्लेख गरे। साथै गायिका रितुसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै सांगीतिक क्षेत्रलाई सक्रिय रुपमा अघि बढाइरहेकोमा धन्यवाद समेत दिए।
कार्यक्रममा गायक कृष्ण कँडेलले रितु तामाङसँगै कलाकार राजकुमार बैदार र डोल्मा तामाङको अभिनयको प्रशंसा गरे। रितुजस्तो स्थापित कलाकारसँग अभिनय गर्दा उनीहरूले देखाएको आत्मविश्वास तथा नृत्य–अभिनयको गुणस्तर राम्रो रहेको टिप्पणी गरे।
लोकप्रिय गायक बद्री पंगेनी र संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाललगायत अतिथिहरूले रितु तामाङले गीत–संगीत क्षेत्रमा गरेको लगनशीलता र योगदानको प्रशंसा गर्दै नयाँ गीत **‘अच्छा लेकीन’**ले बजारमा राम्रो चर्चा पाउने विश्वास व्यक्त गरे।
गायिका तथा मोडल रितुले सबै अतिथिहरूलाई धन्यवाद दिँदै आफूलाई निरन्तर हौसला र समर्थन गर्दै जान आग्रह गरिन्। अभिनेता राजकुमार बैदारले पहिलो पटक अभिनय गर्ने अवसर दिएकोमा टिमप्रति आभार व्यक्त गर्दै नयाँ अनुहार भएकाले दर्शकहरूले मनपूर्वक स्वीकार गरिदिन अनुरोध गरे।
मुख्य अतिथि परशुराम तामाङले रितुको कलात्मक यात्रामा अझ सफलताको शुभकामना दिँदै सांगीतिक कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुशी लागेको बताए।
कार्यक्रम समापन गर्दै अध्यक्ष चन्द्रमणी गौतमले रितुको नयाँ सिर्जना दर्शकसमक्ष ल्याउने जिम्मेवारी पाएकोमा धन्यवाद व्यक्त गरे। उनले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सञ्चारकर्मी तथा लोककलाको विकासका लागि निरन्तर काम गर्दै आएको बताए।
कार्यक्रमको सञ्चालन सचिव कमल सरगमले गरेका थिए भने स्वागत मन्तव्य महिला विभाग प्रमुख सबिता पोखरेलले राखेकी थिइन्। अतिथि तथा सहयोगीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।
विमोचित गीत रितु तामाङ युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। रितु तामाङकै शब्दमा तयार भएको गीतमा उनलाई शितल गुरुङले स्वरमा साथ दिएका छन्। संगीत तथा एरेन्ज विश्वास नेपालको रहेको गीतलाई बिनोद परियारले मिक्सिङ–मास्टरीङ गरेका छन्।
ओजोन स्टुडियोमा रेकर्ड भएको गीतका रेकर्डिष्ट राजु सुनाम हुन्। निर्देशक मौसम हिमालीले तयार पारेको भिडियोमा रितु तामाङ, राजकुमार बैदार र डोल्मा तामाङको अभिनय छ। छायांकन नवराज उप्रेती, सम्पादन तथा कलरिङ मनोज कार्कीले गरेका छन्। रितुको स्वर तथा मोडलिङ रहेको धेरै गीतहरू यसअघि नै दर्शकबीच लोकप्रिय भइसकेका छन्।




प्रतिक्रया दिनुहोस्