दोहा,कतार- पर्वत समाज कतारले आफ्नो २३औँ वार्षिकोत्सव तथा बार्षिक साधारणसभा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।
“निस्वार्थ सेवामा हाम्रो पर्वत, राम्रो पर्वत” भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित भएको समाजले यहि डिसेम्बर १२ तारिक अर्थात आगामी शुक्रबार सनैयामा रहेको फुलबारी रेस्टुरेन्टको सभाहलमा कार्यक्रम हुने तयारी भएको समाजका सचिव सेवक घताने (विश्वकर्मा) ले नेपाली जनता खबरलाई जानकारी गराउनु भएको छ ।
उक्त कार्यक्रमको लागि नेपालबाट आमन्त्रित वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक बुद्धिराम शर्मा र सारेगम लिल च्याम्पका फाइनलिस्ट गायक अरुण सुनार कतार आउने भएका छन भने शर्मा र सुनार सङ्गै कतारमै रहेका झन्डै डेढ दर्जन नेपाली कलाकारको उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिहरु समेत रहने कार्यक्रम संयोजक टिकाराम भुषालले बताउनु भयो ।
साङ्गीतिक प्रस्तुतिको रौनकता सङ्गै खुलेर रम्न अनि रमाउन पाउने कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित सम्पुर्ण संघ संस्था, बैचारिक संस्था, विशिष्ट व्यक्तित्व, सामाजसेवी, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी, व्यवसायी, कलाकार एवं पत्रकारहरु सबैलाई पत्राचार गरिसके सङ्गै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजक समितिले बताएका छन । कार्यक्रममा लक्ष्मी कार्की, नयन शर्मा, राजन परियार, नारायण देवकोटा, रेश्मी सेञ्चुरी, तारा बि.सी, देब घिमिरे, गुना मगर “निशु”, सोम विश्वकर्मा, संगित वि.सी, हास्य कलाकार सुरज खनाल, नृत्य कलाकार गंगा वि.सी, जमुना वि.सी, सृजना खनाल र गायक पुकार थापाको प्रस्तुती रहने समाजका सांस्कृतिक संयोजक कृष्ण दर्लामीले बताउनु भएको छ ।




प्रतिक्रया दिनुहोस्