दोहा,कतार- मधेस प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्दसत्रले नयाँ कार्यसमिति चयन गर्दै सर्लाही जिल्ला कौडेना गाउँपालीका ५ निवासी कलाम हुसेन खान अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
शुक्रवार दोहाको फिरिज अब्दुल अजिजमा रहेको घरवा रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनबाट अध्यक्ष खान सङ्गै वरिष्ठ उपाध्यक्ष दुर्गा नन्द पासवान, उपाध्यक्षहरू क्रमशः मोहमद अजाद मन्सुरी, रमेश साह र दीपेन्द्र कुमार महरा, महासचिवमा इसिलाल पण्डित, सचिवहरू जीवन न्यौपाने, शम्भु प्रसाद यादव, प्रमोद कुमार राम, सुलेमान मियाँ, मोहमद इन्तिसार आलम, सह-कोषाध्यक्ष राम जित कामत केवट निर्वाचित भएका छन् भने समन्वय परिषद्को कार्यसमिति सदस्यहरूमा लक्ष्मण शाह, विदुर बर्तौला, धर्मेन्द्र राउत कुर्मी, कमला परियार, अलि हैदर नदाफ, मोहमद रेजा कवारी, नाजिर नदाफ, रामनन्द राम, सोहल खान, रमजान हुसैन, अमताज हुसैन, नैन भुजेल, मोहमद मजिद, मोहमद जाबिर सिद्धकी चयन हुँदा मोहमद अमिरुल राईन सदस्य तथा युवा संयोजकका रूपमा निर्विरोध निर्वाचित भएका छन् ।

परिषद्का अध्यक्ष मोहम्मद नियाज शेखको सभाध्यक्षता तथा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरए एनसिसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न खुल्ला सत्रमा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, साहित्यिक, सङ्घ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थामा विभाजन ल्याउने, पदका लागी मरिहत्ते गर्ने जस्तो कार्य नगरी राजनीतिलाई टाढा राखेर सेवामुखी कार्य सम्पादनमा सबैले ध्यान दिन आवश्यकता रहेको औँल्याएका थिए । उनिहरुले विशेष गरी खाडीमा बढी श्रमिकहरू तराईबाटै रहेको बताउँदै कतारमा सामाजिक कार्यमा अग्र पङ्तिमा देखिने व्यक्तिहरुले राजनितिक गतिविधि नबढाई सामाजिक कार्यमै प्रतिबद्ध हुनुपर्ने पनि बताएका थिए अधिकांशले तराईमा देखिने धार्मिक विभेदको अन्त्य गर्न आवश्यक रहेको र जब सम्म जातभात र घर्मको नाममा समाज विभाजित भइरहन्छ तब सम्म देशमा विकास नहुने धारणा समेत राखेका थिए ।
कार्यक्रममा बोलेका वैचारिक सङ्गठनका वक्ताहरूले जेनजी आन्दोलन पछि बनेको सरकारका मन्त्रीहरूले पदबाट राजिनाम दिएर चुनावमा होमिनु जनतालाई धोका भएको धारणा राखेका थिए । देशमा नजिकिदै आएको चुनावको प्रत्यक्ष असर हलमा परेको आभास हुन्थ्यो भने प्रत्यक वैचारिक सङ्गठनका प्रमुख एवं प्रतिनिधिहरुले आफ्ना दलका लागी मत माग्न सम्म भ्याएका थिए ।
शुभकामना मन्तव्यकै क्रममा आफ्नो भनाई राख्दै एनसीसी कतारका निवर्तमान अध्यक्ष रमेश भट्टले एनआरएनए आइसिसीले एउटा मापदण्ड बनाउनु पर्ने र मापदण्डकै आधारमा एनिसिसमा एकता हुने बताए । उनले थप बोल्दै एनआरएनए महेश श्रेष्ठ र बद्री केसीको नभएर सम्पुर्ण गैरआवासीय नेपालीहरुको साझा संस्था भएको हुँदा गुटउपगुटमा नलागी अगाडी बढ्नुपर्ने धारणा राखे भने भट्टले आइसिसीमा एकता गर्ने तर दुई वटा समानान्तर एनसीसी रहेका देशका एनसीसीलाई खारेज गर्दै नयाँ एनसीसी निर्माण गर्न तर्फ एनआरएनए लागेको पनि आफूले बुझेको बताए ।

अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले एनसीसी कतार र मधेस प्रदेशको सम्बन्ध प्रगाढ रहेको बताउँदै बोल्ने वक्ताहरू तथा स्टाटस लेख्दा कतारको कानुनको स्मरण गर्न आग्रह गरे । उनले व्यक्तिगत रूपमा वैचारिक बिचार राखे पनी कतारको कानुनले नेपालीहरू आपसमा लडेको बुझ्ने हुँदा राजनीति गर्नै चाहाने हो भने नेपाल गएर गर्न सुझाव दिँदै सामाजिक संस्थामा राजनीति नगर्न आग्रह गरेका थिए ।पन्थिले आफ्नो दैनिक कार्य ब्यस्तताबाट बचेको समय समाजलाई दिइने हुँदा समाजमा खुरापाती नगर्न र कतारबाट भोट अपिल गर्न नमिल्ने र बिचार राख्दा संयमित हुन आग्रह गर्दै यहाँको सम्बन्धित मन्त्रालयले हाम्रा गतिविधि नियाली रहेको बताए । उनले मधेस भोट बैक नै बनेको बताउँदै मधेस एक भएर परिवर्तनका लागी लाग्नु पर्ने र तराईमा बिशेषत शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।

परिषद्का प्रथम उपाध्यक्ष दुर्गानन्द पासवानले स्वागत मन्तव्य राखेको खुल्ला सत्रको समापन सभाध्यक्ष नियाजले गरे । महोत्तरी जिल्ला बलवा नगरपालिका वडा न ९ निवासी नियाजले परिषदमा २ कार्यकाल नेतृत्व गरेका थिए । उनले दुवै कार्यकालमा गरी करिब साढे पाँच वर्ष परिषदमा बिताएर नेतृत्व हस्तान्तरण गर्दै गर्दा भावुक देखिए पनी खुसी व्यक्त गरे । दोहा देखी नेपालसम्म सक्रिय रहेको परिषद्को नयाँ कार्यसमितिले थप नयाँ योजना सहित अगाडी बढ्ने विश्वास व्यक्त गर्दै लामो समयको २ कार्यकाललाई सफल बनाउन साथ र हौसला दिने सबै प्रति कृतज्ञता प्रकट गरेका थिए ।

परिषदका सल्लाहकार चन्दविर यादवले सहजीकरण गरेका अधिवेशन कार्यक्रम मार्फत परिषद् मातहतका जिल्ला संस्था, कार्यसमितिका पदाधिकारीहरू, आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्ने व्यक्तित्वहरू सहित पत्रकारलाई पनि सम्मान गरिएको थियो भने दोस्रो अधिवेशनलाई थप मनोरञ्जनात्मक बनाउन कतारमा रहेका केही कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
नव निर्वाचित कार्यसमितिलाई परिषद्का संरक्षक अध्यक्ष मोहमद शकिर अलिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।





प्रतिक्रया दिनुहोस्