काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ र पूर्वाधार सुधारका काम सुरु गरिएको छ।
भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिर क्षेत्र र वरपर विशेष सरसफाइसहित आवश्यक तयारी अघि बढाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी कामलाई तीव्र बनाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक तथा प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए। उनका अनुसार महाशिवरात्रिको तयारीमा समिति पूर्ण रूपमा सक्रिय छ। साधु–सन्त, भक्तजन र दर्शनार्थीलाई आवश्यक सुविधा उपलब्ध गराउने लक्ष्यका साथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात तथा प्रचार–प्रसारलगायतका क्षेत्रमा काम भइरहेको छ।
महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा व्यवस्था र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको प्रवक्ता जोशीले बताए। सुरक्षाकर्मी, स्वयंसेवक तथा विभिन्न सङ्घसंस्थासँगको समन्वयमा तयारीलाई अझ प्रभावकारी बनाइएको छ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिको उद्देश्य महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्नु रहेको छ।
महाशिवरात्रिलाई लक्षित गर्दै हाल पशुपतिनाथ क्षेत्रमा साधु–सन्तहरूको आगमन तीव्र रूपमा बढ्न थालेको छ। देशका विभिन्न भागका साथै छिमेकी मुलुक भारतबाट समेत साधु–सन्तहरू पशुपति क्षेत्रमा आइपुग्न थालेका छन्। पर्व नजिकिँदै जाँदा साधु–सन्तहरूको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको कोषले जनाएको छ।
विभिन्न अखडा र सम्प्रदायका साधु–सन्तहरू पशुपति क्षेत्रमा आ–आफ्ना धुनी स्थापना गर्दै ध्यान, तपस्या र साधनामा जुटिरहेका छन्। यस वर्ष महाशिवरात्रि फागुन ३ गते परेको छ। पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा धार्मिक गतिविधि थप चहलपहलयुक्त बन्दै गएको छ। साधु–सन्तहरूको आगमनसँगै भक्तजनको आवागमन पनि क्रमशः बढिरहेको कोषले जनाएको छ।
हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व महाशिवरात्रिमा स्वदेशी तथा विदेशी श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। पर्वलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार तथा सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटिरहेका छन्।
—




प्रतिक्रया दिनुहोस्