दोहा कतार – नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा परियार मित्रता समाज, कतारले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम- २०२४ शुक्रबार सफता पुर्वक सम्पन्न गरेको छ ।
समाजका उपाध्यक्ष बालन परियारको संयोजकत्वमा दोहामा रहेको हामद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा सम्पन्न भएको कार्यक्रममा नेपाली रक्तदाता संघ, कतारका अध्यक्ष रामजी खत्री सहित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, व्यवसायीहरु, नेपाली श्रमिकहरु लगायत- १०५ जनाको उपस्थिति थियो भने ५५ जनाले रक्तदानको लागि मेडिकल टेस्ट गराएका थिए जस मध्ये- ४१ जनाले मात्रै रक्त दान गर्ने अवसर पाएको समाजका अध्यक्ष सुमन नेपाल परियारले जानकारी गराए ।
“रक्त दान जीवन दान” भन्ने मुल नाराको साथ आयोजना गरिएको कार्यक्रममा सहभागी भइ रक्तदान गर्ने सम्पुर्णलाई संयोजक बालन परियारले प्रशंसा-पत्र प्रदान गर्दै सहभागिताको लागि धन्यवाद व्यक्त गरेका थिए भने समाजका अध्यक्ष नेपाल परियारले रक्तदान जस्तो मानवीय तथा परोपकारी काममा सहभागी भएर कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजले गर्ने यस्तै पुण्य कामहरुमा साथ सहयोग मिल्ने अपेक्षा राखेको बताए ।
बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा समाजका अध्यक्ष सुमन नेपाल परियार सुरुमा र महासचिव प्रताप चाहार (मुस्कान) अन्तिममा रक्तदान गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्