कतारमा रहेका मगरहरुले भव्य मनाए “माघ्या सकरटी” गायिका सम्झनाको प्रस्तुतिले ततायो माहोल…..

दोहा कतार- वैदेशिक रोजगारीको सिलसिलामा कतारलाई आफ्नो कर्मथलो बनाएर बस्दै आएका नेपाली मगर समुदायले आफ्नो राष्ट्रिय प्रमुख साँस्कृतिक चाड “माघ्या सकराटी एवं मगर मिनाम ल्हेस- ५०१८ शुक्रबार एउटा बनभोज तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाएको छ ।

संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष डि.एन मगरको प्रमुख आतिथ्यता नेपालबाट अतिथि कलाकारको रुपमा आफ्नो साङ्गीतिक प्रस्तुति दिन आएकी चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको बिशिस्ट आतिथ्यतामा कतारमा स्थापित विभिन्न जिल्ला संस्था, बैचारिक संस्थाहरु, जातीय तथा मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको साथै विशिष्ट व्यक्ति, समाजसेवी, बुद्धिजीवीहरु, सामाजिक अभियान्ता एवं व्यवसायीहरुको बिशेष आतिथ्यता सङ्गै दोहाबासी मगर तथा गैर मगर नेपाली दर्शकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

विधिवत दिप प्रज्वलन गरि नेपाली राष्ट्रिय गान, मगर राष्ट्रिय गान बजाए पश्चात् ज्ञात अज्ञात शहिदहरुको सम्झनामा मौन धारण गर्दै औपचारिक रुपमा सुरु भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै संघकी उपाध्यक्ष देवि कुमारी मगरले स्वागत मन्तव्य राखेकी थिइन भने साँस्कृतिक समितिका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

शुभकामना मन्तव्य र साङ्गीतिक प्रस्तुतको राम्रो तालमेल मिलाएर संचालन गरिएको कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार राहादी मगरले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सुरुवात देखि नै सङ्गीतमय बनेको कार्यक्रमको मध्यतिर मुख्य आकर्षणको रुपमा रहेकी नेपालबाट आमन्त्रित गायिक सम्झना लामिछाने मगर चिटिक्क परेर मुस्कुराउदै स्टेज चढेपछि माहोल झन आकर्षित बनेको थियो । सम्झनाले चम्पा चमेली बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गर्दै रुमाल धोएर, घरमा पराल बारीमा बन्सो, देउन रुमाल बैना, फूल फुलेर पहेँलै, यसै त डल्ली नाच्चु हल्लीहल्ली लगायतका एक दर्जन भन्दा धेरै गीतहरु गाएर नाचेर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन ।

उनी सङ्गै कार्यक्रम अबधिभर नेपाल मगर संघ साँस्कृतिक परिवारमा आबद्ध रहेका कलाकारहरू र एरिया विभाग तथा समितिमा रहेका कलाकारहरूले सालैजो, कौराहा, सोरठी, झ्याउरे, हुर्रा, भुम्या तथा अन्य संस्कृति झल्काउने एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने सुरेश बिसी, रेश्मी सेन्चुरी, शिवराम ढकाल लगायतका कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

संघका महासचिव समीर थापा मगर र महिला बिभागकी सचिव रबिना मगरले संयुक्त रुपमा सहजीकरण गरेका कार्यक्रममा सभापति, प्रमुख अतिथि, संघका पूर्व अध्यक्ष तथा विशिष्ट अतिथिहरूलाई खादा र फेटाद्वारा सम्मान गरिएको थियो भने जनजाति समुदायको परम्परा अनुसार मगर संघलाई नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध रहेका मातृसंस्थाहरुले सद्भाव प्रकट गर्दै सगुन स्वरूप एक मुस्ट रुपमा (कोसेली) उपहार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्ने क्रममा थोरै मात्र बोलेका प्रमुख अतिथि मगरले वैदेशिक भुमिमा रहेर पनि संघले नेपाली चार्डपर्व, कला संस्कृती, रितिरिवाज, भाषा र भेषभुषालाई जगेर्ना गर्नको निमित्त खेल्दै आएको महत्त्वपूर्ण भुमिकाको प्रशंसा गर्दै यो वर्षको माघ्या सकराटी मगर मिनाम ल्हेस – ५०१८ भव्य र साच्चिकै सङ्गीतमय बनेको बताए ।

अन्तमा सभापति रेशम आले मगरले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न कोणबाट सहयोग पुर्याउने र अहोरात्र खटेर लागि पर्ने सम्पुर्ण कार्यसमिति पदाधिकारीहरु सहित सिङ्गो आयोजक टिमलाई आभार व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

“सम्पुर्ण मगरहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नारालाई आत्मसात गर्दै सन् – २०००/ बि.सं.- २०५७ मा स्थापना भएको मगर संघले कार्यक्रमको लागि सहयोग गर्ने व्यक्ति तथा सहभागी कलाकारहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने माघ्या सकराटी लाई आफ्नो प्रमुख साँस्कृतिक चाडको रुपमा मनाउदै आइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार