दोहा कतार- कोशी प्रदेश समन्वय परिषद, कतार र प्रदेश अन्तर्गतका नौ वटा जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा भएको “Winter Outdoor Festival” तथा साँस्कृतिक साथै साहित्यिक कार्यक्रम शुक्रबार सहानिया स्थित अल दोसरी जु पार्कमा सभ्य भव्य रुपमा सम्पन्न भएको छ ।
प्रदेश समन्वय परिषद, कतारका अध्यक्ष पदम कुमार घिमिरेको सभापतित्व, परिषदका संस्थापक अध्यक्ष चुडामणी कार्कीको प्रमुख आतिथ्यता, एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी तथा परिषदका सल्लाहकारहरु, प्रदेश अन्तर्गतका जिल्ला अध्यक्ष एवं प्रतिनिधिहरुको साथै कतार स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकार, कलाकारहरु सङ्गै करिब ८ सय भन्दा धेरै दर्शकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
विधिवत समुद्घाटन गरि औपचारिक रुपमा सुरु भएको कार्यक्रममा समन्वय परिषदका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रुद्र प्रसाद आचार्यले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने कलाकारद्वय गंगा विसी र जमुना विसीले हामी नेपाली हाम्रो नेपाल बोलको गीतमा स्वागत नृत्य पेस गरेका थिए ।
कार्यक्रमको अन्त तिर स्टेज चढेकी नेपाल बाट आएकी अतिथि कलाकार श्रेयसी चेम्जोङ लिम्बुले कतार आएर आफ्नो साङ्गीतिक प्रस्तुति राख्ने अवसर मिलाई दिएकोमा आयोजक समितिलाई आभार व्यक्त गर्दै आफ्नो प्रस्तुती सुरु गरेकि थिइन । उनले मलाई तिम्रो सम्झनाले, सुने खबर जिवन साथी अर्कै पाको छौ रे, पानी मिठो मेरो हजुर, मोहनी लाग्ला है, चोली राम्रो, जता हेरे पनि हजुर पुर्बै रमाइलो, रेली खोला बगर, भन्छन कोहि जिन्दगी यो कर्कलाको पानी जस्तै हो भन्ने लगायतका आधा दर्जन गीतहरु गाएर दर्शकहरुलाई झुमाएकी थिइन ।
परिषदका महासचिव पदम प्रसाद सिम्खडाले सहजीकरण गरेका कार्यक्रममा केही सिमित व्यक्तिहरु लाई मात्र शुभकामना मन्तव्य राख्न दिइएको थियो । परिषदका सचिब गोविन्द कटुवालले संयोजन गरेका साँस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकार टिमले प्रत्यक्ष लाईभ दोहोरी प्रस्तुत गरेपछि प्रदेश भित्रका जिल्ला संस्थाहरुको नेतृत्व गर्दै शंखुवासभा सेवा समाजको तर्फबाट कोरियग्राफर विरेन मादेनको निर्देशनमा सरिता वान्तावा राई, सृष्टि लामा, प्रीया तामाङ, कुमारी लामा, कविता राई मादेन, खड्ग वस्नेत र सौरभ आचार्यले उत्कृष्ट मारुनी नृत्य प्रस्तुत गरेका थिए भने धनकुटाको तर्फबाट लक्ष्मी कार्की, उदयपुरको तर्फबाट अजय कुमार दनुवार, खोटाङ बाट सुजन गुरुङ र एलिसा राई, भोजपुर सेवा समाजबाट गायिका गुना मगर “निशु” झापाली समाजबाट मुन प्रसाईं, तेह्रथुमबाट कमल दर्नालले साङ्गीतिक प्रस्तुति पेस गरेका थिए । त्यस्तै कार्यसमितिबाट गोविन्द कटुवाल र प्रताप मुस्कान, एनआरएन आइडल २०२३ का विजेताहरु नृयाङ्गाना निरु श्रेष्ठ, गायक रुस्तम तामाङले आ-आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए । साथै साहित्यकार शिव सुवेदी र प्रेम प्रसाद भट्टराईको मुक्तक तथा गजलका शेरहरुले पनि दर्शकलाई आकर्षित बनाएको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममै प्रमुख अतिथि कार्कीले
कोशी प्रदेश समन्वय परिषद्, कतारले आयोजना गरेको “Winter Outdoor Festival” साङ्गितिक कार्यक्रम सोचेभन्दा उत्कृष्ट, भब्य सभ्यताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गरेका थिए । उनले आफु परिषद्, कतारको संस्थापक अध्यक्ष भएकोले संस्थाले गर्ने हरेक कार्यक्रम सफलता पुर्वक सम्पन्न हुँदा संस्थाको गरिमा अझै उच्च भएको महसुस हुने बताउदै आफुलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएकोमा आयोजक टिम प्रति आभार प्रकट गर्दै मायाँलुलाई फकाउने भ्यालेन्टाइन डे विशेष कविता वाचन गरेर सुनाएका थिए ।
दिउँसो करिब १२ बजे देखी साझ ७ बजेसम्म चलेको सङ्गीतमय कार्यक्रममा प्रदेश भित्रका जिल्ला संस्थाहरुका अध्यक्ष र कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सहयोगीहरु लाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रममा सहभागी सम्पुर्ण कलाकारहरु लाई पनि सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्तमा सभापति घिमिरेले कार्यक्रम सफल बनाउन विभिन्न कोणबाट सहयोग पुर्याउने सहयोगीदाता, कार्यसमिति टिम, मिडियाकर्मी, कलाकार, पत्रकारहरुको साथै आफ्नो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम स्थलसम्म उपस्थित भइ दिने अतिथि तथा सम्पुर्ण दर्शकहरू लाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्