जनता नै राज्य शक्तिको मूल स्रोत : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सद्भाव र समृद्धिसहित राष्ट्रिय एकतालाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

 

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना दिँदै उनले भने, “जनता नै राज्य शक्तिको मूल स्रोत हुन् भन्ने मान्यतालाई लोकतन्त्रले स्थापित गरेको छ।”

 

राष्ट्रपतिले थपे, “सार्वभौमसत्ता जनतामै निहित हुनुपर्छ भन्ने मान्यता जनताको संघर्ष र सहिदहरूको बलिदानबाट स्थापित भएको हो। त्यसैले यो दिवस नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेका हौं। २००७ सालको क्रान्तिको जगमा नै आजको लोकतान्त्रिक प्रणाली निर्माण भएको हो।”

 

राष्ट्रपति पौडेलका अनुसार नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ। उनले भने, “लोकतान्त्रिक निर्वाचनमार्फत तीन तहका सरकारहरू गठन भइसकेका छन्। यी ऐतिहासिक उपलब्धिहरूको आधारमा हामीले समृद्ध भविष्यको यात्रा सुरु गरेका छौं भन्ने मेरो दृढ विश्वास छ।”

 

राष्ट्रपतिले लोकतन्त्रका लागि बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने अग्रजहरूलाई सम्मान प्रकट गरे।

 

त्यसैगरी, उनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल र राज्यका सबै अङ्गहरूलाई संवैधानिक मूल्य र मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा व्यक्त गरे। साथै, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै उनले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्त गर्न सहयोग पुर्याओस् भन्ने कामना गरे।

 

२००७ सालको क्रान्तिपछि निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण संघर्ष सफल भई मानवअधिकार र राजनीतिक स्वतन्त्रता प्राप्त गरिएको सम्झनास्वरूप हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको छ।

 

सम्बन्धित समाचार