काठमाडौँ — काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुबाहक बस काभ्रेको रोशी गाउँपालिका-९, दाउन्नेमा दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीका अनुसार प्रदेश ३–०१–००६–१३३९ नम्बरको बस सडकबाट चिप्लिएर बाँसको झाडीमा पल्टिएको हो।
बस काठमाडौँबाट रामेछापको बाम्तीभण्डारतर्फ जाँदै थियो। दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ८ जनालाई उद्धार गरी भकुण्डेबेशी नजिकै रहेको मेथिनकोट प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइतेहरूको मंगलटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
इन्स्पेक्टर गिरीले जानकारी दिएअनुसार, बसको ब्रेक फेल भएर विपरीत दिशाबाट आएको हाइससँग ठोक्किँदा गाडी अनियन्त्रित भएर पल्टिएको हो। अहिले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्