बागलुङ बहुउद्देश्यीय अक्षयकोषको पहिलो नेतृत्वमा सन्तोष पौडेल, सिम्रन र रेशमले झुमाए दर्शक…….

दोहा कतार- बाग्लुङ सेवा समाज कतारको संस्थागत संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ ।

कतारको मुन्ताजा पार्क नजिकै रहेको होटल होलीडे भिल्लाको सभाहलमा नेपालबाट आमन्त्रित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता एवं अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलको सभापतित्वमा खुल्ला र बन्द सत्र गरी २ चरणमा सम्पन्न भएको अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा सन्तोष पौडेल सहित ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन । जसमा उपाध्यक्षमा मदन जीसी, सचिवमा भरत पौडेल, सहसचिवमा झपेन्द्र सापकोटा (ईश्वर), कोषाध्यक्षमा नीराजन गौतम र सह-कोषाध्यक्षमा सुवास पौडेल छन भने सदस्यहरूमा मिलन गौतम, उमानन्द शर्मा (रामु), राजु खडका, तारानाथ शर्मा र सबिन शर्मा चयन भएका छन ।

नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गायक रेशम निर्दोष र भर्सटायल गायिका सिम्रन परियार र कतारमा स्थापित भइ सकेका झन्डै डेढ दर्जन कलाकारहरुको साङ्गीतिक प्रस्तुति सहित सम्पन्न अधिवेशन कार्यक्रममा कोषका सचिव चन्द्रकान्त शर्मा पौडेलको स्वागत मन्तव्य राखे लगतै नेपाल मगर संघ कतारका कलाकारहरुले स्वागत नृत्यद्वारा अतिथिहरु लगायत उपस्थित सम्पुर्ण लाई स्वागत गरेका थिए ।

अधिवेशनमा कोष स्थापना गर्नुको उद्देश्य र कोषले के-के शिर्षकमा खर्च गर्छ भन्ने बिषयमा कार्यक्रम संयोजक रमेश भट्टले प्रष्ट पारेका थिए । उनका अनुसार कोषमा भएको कुल रकमबाट स्वास्थ्य क्षेत्रमा २५, शिक्षा २५, खेलकुद २०, दैवी प्रकोप तथा आपत्कालीन अवस्थामा २० र कला, साहित्य एवं संस्कृतिमा १० प्रतिशत खर्च गर्ने गरी वर्गीकरण गरि खर्च गरिने छ भने हालसम्म अक्षयकोषको लागि ५७ लाख भन्दा बढी रकम संकलन भई सकेको र यसलाई १ करोड पुर्याउने लक्ष्य रहेको भट्टले बताएका छन ।

कार्यक्रमको मध्यतिर स्टेज चढेकी अतिथि कलाकार सिम्रन परियारले ‘मेरो घर त बाग्लुङ दाजैको कहाँ पर्यो भन्ने बोलको गीत गाएर आफ्नो सांङीतिक प्रस्तुति सुरु गरेकी थिइन । बिस्तारै माहोल सङ्गीतमय बन्दै जादा सिम्रनले तातो पानी, पानी परेको, नाकैको फुलीमा, पारी ठुली भिर लगायत आधा दर्जन गीतहरु गाएर उपस्थित सबैलाई नचाइन । उनले सांगीतिक रूपमा आफ्नो वैदेशिक यात्रा पहिलो भएको हुँदा आयोजक प्रति आभार व्यक्त गरेकी थिइन।

खुल्ला सत्र कार्यक्रमको अन्त-अन्तमा आफ्नो साङ्गीतिक प्रस्तुतिको लागि स्टेजमा उक्लिएका गायक रेशम निर्दोषले सुरुमै सोरठी गीत गाएका थिए । उनको प्रस्तुतिमा झुम्न लामो समयसम्म प्रतीक्षा गरेर बसेका दर्शकलाई सङ्गीतको नशामा मज्जैले झुमाएका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारहरु प्रत्यक्ष लाइभ प्रस्तुति सङ्गै रेश्मी सेन्चुरी, सुधा परियारले पनि आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने नृत्याङ्गाना यमुना पट्टेलले आकर्षक म्याग्दीको मौलिक नृत्य थाली नाच प्रस्तुत गरेकी थिइन । 

कतारका लागि नेपाल सरकारका पर्यटन राजदूत आर.के शर्मा, कोषका संरक्षक राज रेग्मी लगायत कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको कार्यक्रमलाई शारदा भुजेल र बाबु कौसलले मिलेर सहजीकरण गरेका थिए । अधिवेशनको खुल्ला सत्रमा तदर्थ समितिका कोषाध्यक्ष नीराजन गौतमले कोषको आयव्यय पेस गरेका थिए भने अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका सम्पुर्ण नेपालीहरु लाई लगानीका लागि आह्वान गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि सहित अक्षयकोष स्थापनाको लागि र कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने विभिन्न संघ संस्था, व्यक्ति, व्यवसायीहरु सबैलाई दोसल्ला र सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार