काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रभित्र खादा, माला र कुनै संस्थाको परिचय खुल्ने पोसाक तथा सामग्री प्रयोगमा रोक लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षा दृष्टिले महत्वपूर्ण भएकाले यस्तो निर्णय गरिएको जनाएको हो।
यो नियम सबै यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीका लागि लागू हुनेछ। अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) लगाउन नपाइनेछ। यस्तो वस्तुले सुरक्षा जोखिम बढाउने र प्रक्रिया ढिला गराउन सक्ने भएकाले प्रतिबन्ध गरिएको कार्यालयले जनाएको छ।
त्यस्तै, कुनै विशेष समूह, संस्था, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीसँग सम्बन्धित पोसाक, टोपी, ब्याच वा अन्य चिनिने वस्तु प्रयोग गर्न पनि पूर्णरुपमा रोक लगाइएको छ। यस्तो पोसाकले यात्रुहरूलाई फरक व्यवहार भइरहेको जस्तो देखिन सक्ने र सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार गर्न यो नियम लागू गरिएको हो।
अन्त्यमा, अध्यागमन कार्यालयले यी नियमको पालना गरेर अध्यागमन प्रक्रियालाई सहज बनाउन सबैको सहयोग आग्रह गरेको छ। नियम उल्लङ्घन भए कानुनअनुसार कारबाही हुने पनि सूचनामा उल्लेख छ।




			
                            
                            
                            
                            
प्रतिक्रया दिनुहोस्