काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममा वाईसीएल नेपालको श्रम र उत्पादन अभियान को औपचारिक सुरुवात गरेका छन्।
कार्यक्रममा उनले इँटा बोक्ने, घाँस काट्ने, रूख रोप्ने र चौर सफा गर्ने जस्ता श्रममा सहभागी भएर युवासँगै हातेमालो गरे।
कार्यक्रममा बोल्दै प्रचण्डले यो अभियान माओवादी केन्द्रको ‘उत्पादन ब्रिगेड’ को निरन्तरता भएको बताउँदै, “श्रम र उत्पादनमा आधारित अभियान हाम्रो वैचारिक यात्रासँग जोडिएको महत्वपूर्ण पाटो हो,” भने। उनले श्रमिक अभियानलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउन निर्देशन दिइएको जानकारी गराउँदै वाईसीएललाई धन्यवाद दिए।
उनले थपे, “केन्द्रीय समिति गठनपछि पहिलो पदाधिकारी बैठकमै मैले वाईसीएल र पार्टीले उत्पादन र आर्थिक समृद्धिमा नेतृत्वदायी भूमिका लिनुपर्ने निर्देशन दिएको थिएँ। त्यसैअनुसार देशभर यस्ता कार्यक्रमहरू गरिरहेका छौँ।”
भ्रष्टाचारको विषयमा उनले स्पष्ट चेतावनी दिए। “हामी संसदमा बसेर सरकारको कमजोरी र भ्रष्टाचारको पोल खोल्दै आएका छौँ,” उनले भने, “तर सरकार यस्तै ढंगले भ्रष्टाचारमा लिप्त भइरहे, हामी बाध्य भएर सडकबाटै आन्दोलन सुरु गर्नुपर्छ।”
कार्यक्रममा माओवादी केन्द्रका युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। वाईसीएल नेपालले देशभर ५५ स्थानमा अभियान सञ्चालन गरिरहेको जानकारी दिएको छ।
अन्त्यमा प्रचण्डले युवालाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणको अगुवाई गर्न आग्रह गरे।
प्रतिक्रया दिनुहोस्