त्रिभुवन विमानस्थलको अध्यागमनमा ठूलो फेरबदल, लोकसेवा पास गरेका ४५ नयाँ अधिकृत खटाइए

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा गृह मन्त्रालयले ठूलो परिवर्तन गर्दै हालै लोकसेवा आयोगबाट उत्तीर्ण भएका ४५ जना शाखा अधिकृत खटाएको छ।

 

गृह मन्त्रालयले अध्यागमन सुधार प्रक्रिया अन्तर्गत यी नयाँ अधिकृतहरूलाई तीन दिने तालिमपछि आज (सोमबार) बाट औपचारिक रूपमा खटाएको हो।

 

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, सहसचिव नरहरि घिमिरेलाई अध्यागमन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताका रूपमा कार्यरत थिए।

 

“लोकसेवाबाट आएका नयाँ अधिकृतहरू तालिमपछि आजदेखि विमानस्थलमा खटिइसकेका छन्,” रिजालले जानकारी दिए। “अध्यागमन प्रमुखका रूपमा सहसचिव घिमिरेले पनि आजैबाट काम थालिसक्नुभएको छ।”

 

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी ४५ जना शाखा अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो। त्यसपछि गृह मन्त्रालयले ती अधिकृतहरूलाई अध्यागमनमा खटाएर, सोही संख्यामा मन्त्रालयमै कार्यरत शाखा अधिकृतहरूलाई फिर्ता बोलाएको छ।

 

गृह मन्त्रालयका उपसचिव सुरेश जोशीका अनुसार, “अध्यागमनबाट आएका अधिकृतहरूको दरबन्दी मिलाएर मन्त्रालयमा मिलान गरिन्छ। यदि दरबन्दीभन्दा बढी भएमा तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत अन्यत्र पठाइनेछ।”

 

यसैबीच, अध्यागमन प्रणालीमा सुधारका लागि सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ।

 

समितिलाई भिजिट भिसा र अध्यागमन सम्बन्धी समस्या समाधान गर्न नीति, कानुन र संरचना सुधारको तत्काल तथा दीर्घकालीन योजना प्रस्ताव गर्न जिम्मा दिइएको छ। हाल समिति आफ्नै कार्यादेशअनुसार काम गरिरहेको छ।

nepalijanatakhabar

समबन्धित समाचार