दुबई, युएई : “संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयन गर: आदिवासी समुदायका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्माण गर; प्रदेश तथा स्थानीय तहमा मातृभाषाको प्रयोग सुनिश्चित गर” भन्ने मूल नाराका साथ युएईमा पनि ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस २०२५ भव्य रूपमा मनाउने तयारी पूरा भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ युएई (नेफिन युएई) र यससँग आवद्ध ११ वटा जातीय संघ-संस्थाको संयुक्त आयोजनामा अगस्ट १० का दिन दुबईस्थित SK7 क्लबको सभाहलमा विविध कार्यक्रमसहित दिवस मनाउन लागिएको नेफिन युएई अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए।
उक्त कार्यक्रममा विभिन्न जातीय पहिचान झल्किने सांस्कृतिक झाँकी, मौलिक भेषभूषा, परम्परागत परिकार तथा संस्कृति झल्काउने सामाग्रीसहित स्टलहरू राखिनेछ। कार्यक्रमबारे जानकारी दिँदै महासचिव धनकृष्ण राई (डिके किराँती) ले यो अवसरलाई सांस्कृतिक एकता र विविधताको उत्सवको रूपमा लिने बताए।
कार्यक्रममा आ–आफ्नो समुदायको सेवा र योगदान गरेका एक पुरुष र एक महिलालाई सम्मान गरिनेछ। साथै, “मिस्टर एण्ड मिस इण्डिजिनस” प्रतियोगिता पनि आयोजना गरिनेछ। त्यसै अवसरमा नेफिन युएईको १०औं महाधिवेशनमार्फत चयन गरिएको २०२५–२०२७ कार्यकालको नयाँ नेतृत्व टोलीको घोषणा समेत गरिनेछ।
सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको महासभाले अगस्ट ९ लाई विश्व आदिवासी दिवसको रूपमा घोषणा गरेपछि यो दिवस विश्वभर मनाइँदै आएको छ। तर युएईमा सार्वजनिक बिदा नपर्ने भएकाले नेपाली समुदायले सुविधानुसार अगस्ट १० का दिन कार्यक्रम आयोजना गर्दै आएको हो।
हालसम्म नेफिन युएईमा तमु समाज युएई, नेपाल मगर संघ युएई, तामाङ समाज युएई, किरात राई यायोख्खा युएई, किरात याक्थुङ चुम्लुङ युएई, थारु कल्याणकारी सभा युएई, नेवा: पुचः युएई, शेर्पा किदुङ युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, सुनुवार सेवा समाज युएई, माझी समाज युएई आवद्ध छन्। साथै राजवंशी सेवा समाज युएई र आदिवासी युवा महासंघ युएई को सहकार्य रहनेछ।
सधैंझैं, यसपालि पनि प्रमुख मिडिया साझेदारको रूपमा आदिवासी जनजाति पत्रकार महासंघ युएई रहनेछ।
प्रतिक्रया दिनुहोस्