रञ्जित चौरसिया, वीरगञ्ज: वीरगञ्जस्थित अल्ट्रा अभियान डिजिटल इलेक्ट्रा प्रा.लि. र त्यसका सञ्चालक दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता, सुशिल सर्राफ र भरत साहविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ।
अभियानका प्रतिनिधि नरेश प्रसाद यादवसहित दर्जनौँ पीडितहरूले आफूहरूलाई मासिक रकम असुल्दै चिठ्ठा परेको सामान नदिएको आरोप लगाउँदै रकम फिर्ता र आवश्यक कारबाहीको माग गरेका हुन्। तर उजुरी परे पनि केही प्रहरीहरूले उल्टै मिलापत्र गर्न दबाब दिइरहेको पीडितहरूको गुनासो छ।
अभियान सञ्चालनमा जिल्ला प्रहरी र प्रशासनसँग सेटिङ मिलाइदिने एक जना बिचौलिया डाक्टर अझै सक्रिय रहेको बुझिएको छ।
यसबारे सोध्दा पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले आफू दिनभर बाहिर भएकाले जानकारी नभएको बताए। त्यस्तै, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अघिल्लो पटक पत्रकारहरूसँगको कार्यक्रममा छिट्टै बुझेर कारबाही गर्ने बताएका भए पनि हालसम्म कुनै कदम नचालिएको उल्लेख गर्दै, “त्यातिर मेरो ध्यान गएको छैन, भोलि बुझ्छु,” भन्ने प्रतिक्रिया दिएका छन्।
यसअघि पनि ती सञ्चालकहरूले अभियान डिजिटल वर्ल्ड प्रा.लि. को नाममा करोडौँ असुलेर सदस्यलाई सामान नदिएको तथ्य खुलेको छ। त्यसपछि विवाद चर्किएपछि फेरि नयाँ कम्पनी अल्ट्रा अभियान डिजिटल इलेक्ट्रा प्रा.लि. खोलेर “एसी प्रोजेक्ट” नाममा ६ हजार ९९९ सदस्यसँग मासिक २२५० दरले करोडौँ असुलिरहेको पाइएको छ।
गत साउन ७ गते बारा, कलैयास्थित होटलमा १३औँ चिठ्ठा कार्यक्रम गुपचुपमा गरिसकेका सञ्चालकहरूले १४औँ किस्ताको रकम असुल्न आदेशसमेत जारी गरेका छन्। हालसम्म २० करोडभन्दा बढी रकम उठाइसकेको स्रोतको दाबी छ।
यसअघि चितवनमा प्रहरी उपरीक्षक गौतम मिश्रको उपस्थितिमा ठगीसम्बन्धी मुद्दा दर्ता गरी केही सञ्चालकलाई पक्राउ गरिएको भए पनि हाल उनी पर्सा आएपछि खुलेआम चिठ्ठा खेलाइरहेको र प्रहरी प्रशासन मौन बसेको देखिएको पीडितहरूको आरोप छ।
हाल अर्कै मुद्दामा दिपेश वर्णवाल थुनामा छन् भने ठगी रकमबाट सञ्चालकहरूले कबाड पसल, तेल व्यापार, कलेज र क्रिप्टोकरेन्सीमा लगानी गरिरहेको पाइएको छ। एजेन्टहरूमध्ये घनश्याम ओझा सबैभन्दा बढी सदस्य बनाउने अग्रपंक्तिमा रहेको र उसले कबाड पसलको काम हेरेको जानकारी प्राप्त भएको छ।
पीडितहरूका अनुसार ऋषिकान्त गुप्ता, सुशिल सर्राफ, भरत साह र एजेन्ट घनश्याम ओझालाई पक्राउ गरी गहिरो अनुसन्धान गरे क्रिप्टोकरेन्सीसहितका अवैध कारोबार पनि खुल्नेछ।
टिभी एसेम्बलिङ्गको अनुमति लिएर सुरु गरिएको अल्ट्रा अभियानले चिठ्ठाको नाममा करोडौँ ठगी गर्दा पनि पर्सा प्रहरी र प्रशासन ‘सुशासन’को नारा मात्रै दोहोर्याइरहेको भन्दै स्थानीय चियापसलसम्ममा यसको चर्चा भइरहेको छ।
प्रतिक्रया दिनुहोस्