उपसभामुख १७ पटक विदेश भ्रमणमा, १० पटक स्वीकृति नै नलिएर जानुभयो: योगेश भट्टराई

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरले यस कार्यकालमा १७ पटक विदेश भ्रमण गरेको दाबी गरेका छन्।

 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै भट्टराईले लगातार विदेश भ्रमण असामान्य भएको उल्लेख गर्दै प्रश्न उठाए। उनले भने, “१७ पटक विदेश जानु सामान्य होइन। तीमध्ये ७ पटक मात्रै सभामुखले स्वीकृति दिएका रहेछन्, बाँकी १० पटक कुनै स्वीकृति नै छैन। त्यसो भए के आधारमा उहाँ विदेश जानुभएको हो? कसको निम्तोमा जानुभयो? डिप्लोमेटिक मर्यादा हुन्छ, त्यसलाई किन बेवास्ता गरियो?”

 

भट्टराईले सभामुख वा सम्बन्धित निकायको जानकारी विना विदेश भ्रमण गर्नु आचरणसम्मत हो वा होइन भन्ने प्रश्न पनि उठाए। उनले थपे, “उपसभामुखले अमेरिकामा गएर भाषण गर्नुभयो भने त्यसको आधिकारिक अभिलेख संसद् वा परराष्ट्र मन्त्रालयसँग के छ? हाम्रो कूटनीतिक निकायसँग के छ? यस्तो महत्वपूर्ण प्रश्नलाई बेवास्ता गर्न मिल्दैन।”

 

उनले संसद्ले यसबारे स्पष्ट जवाफ खोज्नुपर्ने बताए। “उपसभामुख मात्र होइन, सभामुखदेखि सबै सदस्य र पदाधिकारीले अनुशासनमा बस्नुपर्छ। राष्ट्रहितमा काम गर्नुपर्छ। नेपालको कूटनीतिक मर्यादालाई पालना गर्नैपर्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ,” उनले भने।

 

यसै प्रसंगमा, रानामगरलाई हटाउने प्रयासलाई ‘जनजाति महिला उपसभामुखमाथिको अन्याय’ भनेर प्रचार गर्नु भावनात्मक दवाव (इमोसनल ब्ल्याकमेलिङ) मात्र भएको भट्टराईको भनाइ थियो। “जनजाति महिला हटे अर्को दलित वा मधेशी महिला आउन सक्छिन्। ९२ जना महिला सांसदहरू छन्। त्यसैले यस्तो भावनात्मक प्रचार गरेर वास्तविक विषयवस्तुलाई ढाकछोप गर्नु गलत हो,” उनले स्पष्ट पारे।

 

उनले अझै प्रश्न उठाउँदै भने, “जनजातिको पक्षमा भन्ने माननीयज्यूहरूले सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन भोट किन नहाले? अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा किन समर्थन गरेनन्? महिलाको पक्षमा आँसु झार्नेहरू त्यतिबेला कहाँ हुनुहुन्थ्यो?”

 

भट्टराईले अन्त्यमा भने, “यो इमोसनल ब्ल्याकमेलिङको कुरा होइन, यो राजनीति हो। राजनीति नै मार्गदर्शन गर्छ। त्यसैले भावनामा होइन, विषयवस्तुको गम्भीरतामा ध्यान दिनुपर्छ।”

nepalijanatakhabar

समबन्धित समाचार