खोटाङ: खोटाङमा एक युवतीको शव शंकास्पद अवस्थामा जंगलमा भेटिएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी २५ वर्षीया रेश्मीका सिवा परियारको शव मंगलबार राति स्थानीय सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। रेश्मीका, बतासे निवासी रविन परियारकी पत्नी थिइन्।
रेश्मीका दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्।
प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार, भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबीचको मार्से सामुदायिक वनमा उनको शव फेला परेको हो। उनले भने, “शवलाई पोष्टमार्टमका लागि धरानस्थित घोपा क्याम्प पठाइएको छ। विस्तृत तथ्य भने रिपोर्टपछि मात्र स्पष्ट हुन्छ।”
स्थानीयवासीले रेश्मीको बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। तर, प्रहरी भने अहिलेसम्म घटनाबारे आधिकारिक रूपमा केही निष्कर्षमा पुगेको छैन।
प्रहरीले हालसम्म कैयौं व्यक्तिसँग सोधपुछ गरे पनि कसैलाई पक्राउ गरिएको छैन।
सहकारीका अध्यक्ष सागर तामाङका अनुसार, रेश्मी आइतबार दिउँसो करिब ४ बजे कार्यालयबाट घर फर्किएकी थिइन्। तर, रातिसम्म घर नपुगेपछि खोजी गर्दा सोही दिन राति ८ बजेतिर सडकदेखि करिब १५० मिटर तल बाँसघारीमा उनको शव भेटिएको हो।
प्रत्यक्षदर्शीले रेश्मीको चप्पल सडकछेउमै भेटिएको र शवसम्मको बाटो घिसारिएको देखिएको बताएका छन्।
यो समाचार नेपालखबरमा प्रकाशित छ।
प्रतिक्रया दिनुहोस्