आज आश्विन ०३ गते शुक्रवारको हेर्नुस् राशिफल सेयर गरी पाथिभारा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

वि.सं. २०८२ आश्विन ०३ गते शुक्रवार तदनुसार ई. सं. २०२५ सेप्टेम्बर १९ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०५:५५ बजे, चन्द्रास्त : दिउँसो ०३:४८ बजे र चन्द्रोदय : भोलि बिहान ०३:२० बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०६:०९ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०६:२३ बजे, आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) त्रयोदशी तिथि, मध्यरात्रीपूर्व ११:५१ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, अश्लेषा नक्षत्र, बिहान ०८:५२ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, बिहान ०८:५२ बजेसम्म, त्यसपछि सिंह राशिमा, सिद्धि योग, मध्यरात्रीपूर्व ११:०९ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा गर करण दिउँसो १२:०० बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपूर्व ११:५१ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : सेतो (बिहान ०८:५२ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बिहान ०८:५२ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : दक्षिण (मध्यरात्रीपूर्व ११:५१ बजेसम्म), त्यसपछि पश्चिम, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये अग्नि वाण : साँझ ०६:५० बजेसम्म, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : श्री शुक्र प्रदोष व्रत (दाम्पत्यसुख, प्रेमजीवन र सुखसम्मृद्धिका लागि), सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, मघा श्राद्ध, कलियुगादि, जुम्ला खलङ्गामा चन्दननाथको लिंगो ठड्याउने दिन, प्राणनाथजीको जन्मोत्सव (कृष्णप्रणामी), संविधान दिवस

 

 

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०४ गते : सोह्र श्राद्धअन्तर्गत चतुर्दशी श्राद्ध (शस्त्रादिबाट अकालमा मरेकाहरूको श्राद्ध), नलास्वन चह्रे पूजा, ०५ गते : सर्वपितृ अमावस्या, सोह्र श्राद्धअन्तर्गत अमावस्या श्राद्ध, दर्श श्राद्ध, तिथि थाहा नभएकाहरूको सोह्रश्राद्ध, हलो तथा निशि बार्ने दिन, पितृ विसर्जन (सोह्रश्राद्धको समापन), साहित्यकार भैरव अर्याल जयन्ती, विश्व शान्ति दिवस, विश्व कृतज्ञता दिवस, ०६ गते : सामाजिक सेवा दिवस, घटस्थापना

 

 

 

 

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

 

व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । मन प्रेमिल बन्ने समय हो । नयाँ/नयाँ विषय र काम प्रति जागरुकता बढ्नुका साथै रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नीतिविद्याधुरन्धराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार/विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । कुटुम्ब वा चेलीबेटीसँग सम्पर्क हुनेछ, अचानक कुनै पैसा हात पर्ने सम्भावना रहेको छ, लगानीमा रहेको रकम पनि फिर्ता हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गं गणपतये नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वैभवलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । पार्टनरको इच्छा र भावना बुझ्‌न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला । आत्मज्ञान, धैर्यता र संयमता आजका मित्र हुन् भन्ने बुझ्‌नुपर्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःशिवाय यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

भेटघाटको समयमा व्यक्तिगत उन्नति/प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । कर्मप्रतिको निष्ठाभावमा बृद्धि हुनेछ । हाकिम, गुरुजन वा ठूलो मान्छेसँग उठबस गर्न पाइने छ, घरपरिवारबाट पनि शुभ समाचार प्राप्त हुनेछ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्‌द्धीसँग अन्तर्क्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ आदित्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्‌नो कामलाई निरन्तरता दिनुहोला । असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो/पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ सेतो/चम्किलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कवये नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बढी खर्च हुने तथा व्यर्थका काममा अल्मलिएर दिन बित्ने परिस्थिति छ । झगडाको योगसमेत बनेको हुँदा मुखलाई कन्ट्रोलमा राखी काममा खटेको जाती हुन्छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नागदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

nepalijanatakhabar

समबन्धित समाचार