काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई जिम्मेवारीबाट हटाइएपछि आगामी योजनाबारे परामर्श गरिरहेको बताएका छन्।
आइतबारको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो। उनले सरकारसँग मिलेर अघि बढ्ने योजना भए पनि आफूलाई आयोगमा स्थानान्तरण गरिएको बताए।
शाक्यका अनुसार, “यदि सरकारले राम्रो उद्देश्यसहित आयोगमा पठाएको भए त्यहीँ बसेर पनि सहयोग गर्थेँ। तर, बिनाकारण सरुवा गरिनु अन्यायपूर्ण छ।”
रातोपाटीसँगको छोटकरी कुरा गर्दै उनले भने, “सरकारले कस्तो व्यवहार गर्छ, त्यसैअनुसार म अघि बढ्छु। मेरो विशेषज्ञता सरकारलाई आवश्यक छ भने आयोगमा बसेर पनि सहयोग गर्छु। तर, यदि यो निर्णय प्रतिशोधका कारण हो भने म पनि सोही हिसाबले अघि बढ्छु। काम गर्ने अवसर नदिई हटाइएकोमा गुनासो छ।”
उनले आफू दुईपटक प्राधिकरणको प्रमुख बने पनि दुवैपटक प्रभावकारी रूपमा काम गर्ने मौका नपाएको दुखेसो पोखेका छन्। कानुनी कदम चाल्नेबारेको प्रश्नमा उनले अहिले त्यसबारे कुनै योजना नभएको स्पष्ट पारे।




प्रतिक्रया दिनुहोस्