काठमाडौं । पछिल्लो दिनहरूमा सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजीबीच गोप्य भेटवार्ता भएको दाबीसहित केही व्यक्तिहरू मास्क लगाएको फोटो र भिडियो तीव्र गतिमा भाइरल भएको छ। एमाले नेता महेश बस्नेतले समेत उक्त भिडियो शेयर गर्दै बालेनले जेनजीसँग गोप्य बैठक गरेको आरोप लगाएका थिए।
तर, अनुसन्धानपछि ती सबै दाबीहरू निराधार रहेको प्रमाणित भएको छ।
वास्तवमा ती दृश्यहरू २०८१ साल फागुन ८ गते भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनका हुन्। सो विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि विद्यार्थीहरूले सुरक्षा प्रश्न उठाउँदै पत्रकार सम्मेलन गरेका थिए।
त्यस समयमा विद्यार्थीहरूले मास्क र आवरण लगाएर आफ्नो माग सार्वजनिक गरेका थिए। उनीहरूले भनेका थिए– सुरक्षाको पूर्ण सुनिश्चितता नभएसम्म कलेज फर्किँदैनौं। साथै, विश्वविद्यालय प्रशासन र सम्बन्धित निकायसँग लिखित रूपमा ज्यान सुरक्षित हुने आश्वासन पनि मागेका थिए।
हाल किट विश्वविद्यालयमा करिब १,५०० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्। उनीहरूको शिक्षा र सुरक्षामा तत्काल ध्यान दिनुपर्ने माग विद्यार्थीहरूले राखेका थिए।
यसरी, प्रकृति लम्सालको मृत्युपछि उत्पन्न तनावका कारण घर फर्किएका विद्यार्थीहरूले आयोजना गरेको पत्रकार सम्मेलनकै दृश्यलाई पछिल्लो समय तोडमोड गरेर ‘बालेन शाह र जेनजीबीचको गोप्य वार्ता’ भनेर प्रचार गरिएको हो, जुन पूर्ण रूपमा गलत भएको पुष्टि भइसकेको छ।




प्रतिक्रया दिनुहोस्