काठमाडौं । प्रतिनिधिसभा विघटनपछि ‘नेपाल नागरिकता ऐन २०६३’ संशोधन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै अबदेखि आमा र बाबु दुवै बराबर हुनेगरी नागरिकता लिन सकिने व्यवस्था कार्यान्वयनमा आएको हो।
संघीय संसद्ले साउन १८ गते संशोधन विधेयक पारित गरी राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाएको थियो। अब नागरिकतामा बाबुको नाम मात्र अनिवार्य राख्नुपर्ने बाध्यता हटेको छ। आमा वा बाबु – जसको नाम राखे पनि छोराछोरीले नागरिकता लिन सक्नेछन्।
भदौ २३–२४ को जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारअन्तर्गत राष्ट्रपति पौडेलले ऐन प्रमाणीकरण गरेका हुन्। असोज ५ गतेको राजपत्रमा संशोधित ऐन प्रकाशित गरिएको छ।
यस ऐनले आमा वा बाबु, एकजनाको नाम मात्र राखेर नागरिकता लिन सकिने व्यवस्था गरेको छ। बाबुको ठेगाना अज्ञात भए वा बाबुले सहयोग नगरे पनि आमाको नामबाट नागरिकता लिन सकिनेछ।
संशोधित ऐनमा भनिएको छ, “नेपालमा जन्मेर बसोबास गर्ने नेपाली आमाका सन्तानको बाबुको सम्पर्क नभएको, बाबु पहिचान हुन नसकेको वा आमाले बाबु पहिचान गराउन नसकेको अवस्थामा आमाको स्वघोषणा भएमा त्यसलाई मान्यता दिइनेछ।”
१६ वर्ष नपुगेका बालबालिकाले जिल्ला प्रशासन कार्यालयबाटै नाबालक प्रमाणपत्र पाउनेछन्। विदेशमा जन्मिएका सन्तानले पनि यसै आधारमा नागरिकता पाउने व्यवस्था गरिएको छ।
शैक्षिक प्रमाणपत्रमा बाबुको नाम भए पनि नागरिकतामा राख्नुपर्ने बाध्यता छैन। तर स्वघोषणा झुठो ठहरिएमा ६ महिना देखि १ वर्षसम्म कैद वा ५० लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ।
विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका सन्तानले अंगीकृत नागरिकता पाउने छन्। विदेशमा आमाबाट जन्मिएका, तर विदेशी राहदानी नलिएका व्यक्तिले स्वघोषणा गरेर अंगीकृत नागरिकता लिन सक्नेछन्। विदेशमा जबर्जस्ती गर्भधारणका कारण जन्मेका सन्तानले समेत आमाको नामबाट अंगीकृत नागरिकता पाउने प्रावधान थपिएको छ।
आमाको नामबाट नागरिकता नदिँदा सर्वोच्च अदालतमा पटकपटक मुद्दा दर्ता भएका थिए। सर्वोच्चले समेत आमाको नामबाट नागरिकता दिन आदेश गर्दै आएको थियो। अब यो ऐनले त्यो आदेशलाई कानुनी आधार दिएको छ।
अघिल्लो सरकारले संविधान र सर्वोच्च अदालतका परमादेशलाई आधार बनाएर नागरिकता ऐन संशोधन गरेको थियो। विधेयक संसद्का दुवै सदनले सर्वसम्मत पारित गरेका थिए।
संविधानको धारा १० अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गर्न पाइँदैन। संशोधनपछि अब आमाको नामबाट सहजै नागरिकता पाउन सकिनेछ।
गृहमन्त्री लेखकले संसद्मा भनेका थिए, “वंश आमाबाट पनि कायम हुन्छ। आमाकै आधारमा अब छोराछोरीले नागरिकता पाउनेछन्।
यो समाचार न्युज २४ बाट साभार गरिएको हो।
प्रतिक्रया दिनुहोस्