ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशनसम्बन्धी नीति चाँडै संशोधन हुने बताएका छन्।
बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले हालको चार्जिङ नीति केही सुधार आवश्यक भएको उल्लेख गर्दै भने, “चार्जिङ स्टेशनसम्बन्धी केही नीति सुधार गर्नुपर्नेछ, हामी छिट्टै अर्को बोर्ड बैठकबाट पास गर्छौं।”
उनका अनुसार सरकारले विद्युत प्रयोगलाई यातायात र घरायसी क्षेत्रमा विस्तार गर्न विशेष प्राथमिकता दिएको छ। उनले यातायात र खाना पकाउने काममा विद्युत प्रयोग बढाउनुपर्नेमा जोड दिए।
मन्त्री घिसिङले थपे, “हामी अहिले गाउँगाउँ पुगेको ग्रिडको सदुपयोग गर्दै इन्डक्शन कुकिङतर्फ लैजाने प्रयासमा छौं। यसले विद्युतको माग बढाउँछ र ऊर्जा खपतलाई अझ प्रभावकारी बनाउँछ।”
उनले ऊर्जा दक्षता र रूपान्तरणलाई सुदृढ बनाउन स्पष्ट कार्ययोजना तयार गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी, घिसिङले हावाबाट ऊर्जा उत्पादन (विन्ड एनर्जी) को क्षेत्रमा पनि नेपालमा ठूलो सम्भावना रहेको बताउँदै, यस क्षेत्रमा लगानी गर्न इच्छुक निजी क्षेत्रलाई सरकार पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
कार्यक्रममा उनले नेपालको ऊर्जा विकासमा निरन्तर सहयोग पुर्याएको भन्दै जर्मन सरकारप्रति धन्यवाद पनि व्यक्त गरे।




प्रतिक्रया दिनुहोस्