क्वालालम्पुर, मलेसिया । नेपाल थामी समाज मलेसियाले यस वर्ष उधौली पर्व (भुम्या पूजा)–२०८२ मलेसियामै पहिलोपटक भव्य रूपमा मनाउने भएको छ। कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको अध्यक्ष सन्तोष ठान्टी थाङ्मीले जानकारी दिनुभयो।
अध्यक्षका अनुसार मुख्य कार्यक्रम २०८२ मंसिर २८ गते (२०२५ डिसेम्बर १४) क्वालालम्पुर–कोतारायास्थित Cosmo Hotel मा आयोजना हुनेछ। कार्यक्रम विहान ११:०० बजेदेखि सुरु हुनेछ।
अध्यक्ष थाङ्मीले भुम्या पूजालाई थामी समुदायको पहिचान, संस्कृति र प्रकृतिप्रति सम्मानको प्रतीकका रूपमा व्याख्या गर्दै, यसले प्रवासमा रहेका थामी दाजुभाइ–दिदीबहिनीबीच एकता, सहकार्य र सांस्कृतिक निरन्तरता बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
मलेसियामा पहिलोपटक आयोजना हुन लागेको यस उधौली भुम्या पूजामा धामी समुदायको मौलिक सांस्कृतिक प्रस्तुति सहित विभिन्न कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। गायक ढकमणी लम्साल (बि.शि), डान्सर चन्द्रबहादुर घिसिङ तामाङ (चार्ली), काशी गुरुङ र एलिजा तामाङको विशेष प्रस्तुति रहनेछ। यिनले कार्यक्रमलाई अझै रंगीन बनाउने अध्यक्षले बताउनुभयो। थामी सांस्कृतिक नृत्य–गीत, भुम्या पूजा विधि, सामूहिक प्रार्थना तथा समुदायको परम्परागत पहिचान झल्काउने अन्य प्रस्तुति पनि कार्यक्रमको मुख्य आकर्षण रहनेछ।
समाजले थामी मात्र नभई सबै किराती तथा गैरकिराती समुदायलाई पनि कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणाको आग्रह गरेको छ। “थामी संस्कृतिको संरक्षण, भाइचारा र सहअस्तित्वलाई मजबुत बनाउन सबै समुदायको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाउनेछ,” अध्यक्ष थाङ्मीले भन्नुभयो।
अध्यक्षले थप्नु भयो, “हामी प्रवासमा भौगोलिक रूपमा पूर्व–पश्चिम छुटिए पनि यस्ता कार्यक्रमले सबै नेपालीलाई एउटै मञ्चमा जोड्छ। यसले हाम्रो मौलिक धार्मिक संस्कृति र परम्परालाई आदानप्रदान गर्दै अझ बलियो पहिचान स्थापित गर्न मद्दत गर्छ।”
नेपाल थामी समाज मलेसियाले मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई यो ऐतिहासिक सांस्कृतिक उत्सवमा सहभागी भई एकता र पहिचानको भावना प्रकट गर्न अनुरोध गरेको छ।




प्रतिक्रया दिनुहोस्