रामेछाप । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा वडा अध्यक्ष दलबहादुर प्रधानसहितको मिलेमतोमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको पाइएको छ ।
वडा अध्यक्षसहितको मिलेमतोमा रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा रहेको श्री कालिकादेवी सामुदायिक वनको पैसा अपचलन गरी अवैध रुपमा ढुङ्गा समेत उत्खनन् गरेको पाइएको हो । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा रहेको श्री कालिकादेवी सामुदायिक वनको पैसा वडा अध्यक्ष दल बहादर प्रधान, श्री कालिकादेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर प्रधानले अख्तियारीको दुरुपयोग गर्दै मिलेमतोमा सामुदायिक वनको पैसा अनियमितता गरी अवैध रुपमा वन क्षेत्रको ढुङ्गा उत्खनन्, गरी विक्री गरेका हुन् । वडा अध्यक्षसहितको मिलेमतोमा सामुदायिक वनको पैसा वनको खातामा नराखी व्यक्तिको हातमा राखेर र वन क्षेत्रभित्रको ढुङ्गा समेत अवैध उत्खनन् गरेर विक्री गर्ने गरेको स्थानीयले बताएका छन् ।
सहकारी सञ्चालक समितिका पदाधिकारीको बद्मासीकै कारण डुबेको सहकारीलाई वडा अध्यक्षसँगको मिलेमतोमा वनको पैसा दिएको खुलासा
वडा अध्यक्ष दल बहादुरसँग मिलेर पदम बहादुर र वनको सचिव समेत रहेकी लक्ष्मी प्रधानले सोही वडामा रहेको लोक रोशन सहकारीकालाई एक लाख रुपैयाँ दिएको खुलेको छ । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पद बहादुर प्रधानले वडा अध्यक्ष, सचिव लक्ष्मी प्रधान, सहकारीका अध्यक्ष हरि प्रधानसहितको मिलेमतोमा वनको पैसा सहकारीको नाममा दिएको बताउनुभयो । कतैबाट केही आउने ठाउँ र माग्ने ठाउँ नभएपछि पुरानो वेवारिसे अवस्थामा रहेको सहकारी रहेकोले त्यसैलाई उत्थान गरौँ भनेर वनको पैसा दिएको अध्यक्ष पदम बहादुरले स्वीकार गरेका छन् ।
उहाँले भन्नुभयो,”हामी वडाअध्य सबै मिलेर एउटा सहकारी थियो पहिला त्यो सहकारी कसैले वास्ता नगरेर फ्रीज भएको थियो, कतैबाट केही आउने र माग्ने ठाउँ नै भएन भन्ने कुरा भो, पैसा अलिकति नपुग भएकोमा वनको पैसा अलिकति हालुम भनेर हालेको हो । २/४ महिनालाई हालौँ भनेर अध्यक्षले भने अध्यक्षले भनेपछि हामीले हुन्छ त यो संस्था हाम्रै हो भनेर अध्यक्षको मुख हेरेर खत्री गोपाल, सचिव सानीले साइन गर्यौँ । अहिले पैसा हाल्दिनु भनेर कुरा गरिरहेका छौँ । आफूले मासेको होइन वडा अध्यक्षसहित मिलेर फसाए सोझा सिदा हामीलाई ।”
यसैबीच रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारका वडा अध्यक्ष दल बहादुर प्रधानले भने यस प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,” मेरो मिलेमतो छैन, वनको कुरा हो उनीहरुको समिति बसे होला, उनीहरुले नै गर्ने व्यवहार हो । यता डिभिजन वन कार्यालय रामेछापका डिभिजनल वन अधिकृत उमाशंकर प्रसाद जयसवालले संस्थाको पैसा यसरी व्यक्तिगत रुपमा दिन नहुने बताउनु भएको छ । उहाँले भन्नुभयो,”यसरी संस्थाको पैसा व्यक्तिले मनलाग्दी दिन मिल्दैन, संस्थाको पैसा संस्थाकै खातामा राखिनु पर्छ ।”




प्रतिक्रया दिनुहोस्