काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार आज दिल्लीस्थित आफ्नै निवासमा उनको मृत्यु भएको हो।
‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा उहाँको निधन भयो,’ घतानीले अनलाइनखबरसँग भने, ‘हृदयघातका कारण निधन भएको रहेछ।
इन्डियन आइडलको उपाधि जितेर चर्चामा आएका तामाङ नेपालमा पनि अत्यन्त लोकप्रिय थिए। उनले गाएका थुप्रै नेपाली गीत श्रोतामाझ निकै चर्चित छन्।
४३ वर्षीय तामाङले गायनसँगै नेपाली फिल्म क्षेत्रमा अभिनय पनि गरेका थिए। नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन–२’ बाट उनले नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेका हुन्। त्यस्तै, ‘हिम्मत–२’ मार्फत उनले पहिलोपटक नेपाली फिल्ममा पार्श्वगायन गरेका थिए।
यसपछि उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी (भाग १ र २) लगायतका फिल्ममा अभिनय गरे। दिल, अनमोल छन् र हिम्मत–२ मा उनले पार्श्वगायन गरेका छन्। साथै, सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत उनले बलिउडमा डेब्यू गरेका थिए। उक्त फिल्मको छायांकन सम्पन्न भइसकेको थियो र उनी डबिङको तयारीमा थिए।
भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए। उनीहरूका एक छोरी छन्।
कलात्मक क्षेत्रमा आउनुअघि उनले केही समय कोलकाता प्रहरीमा कन्स्टेबलको रूपमा पनि सेवा गरेका थिए। सन् २००७ मा उनको डेब्यू एल्बम ‘धन्यवाद’ सार्वजनिक भएको थियो। ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका लोकप्रिय गीतहरू हुन्।
उनले नेपालको चर्चित टेलिभिजन श्रृंखला ‘तीतो सत्य’ मा समेत अभिनय गरेका थिए। प्रशान्त तामाङको निधनको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा श्रद्धाञ्जली र समवेदनाका सन्देशहरू व्यापक रूपमा आइरहेका छन्।




प्रतिक्रया दिनुहोस्