श्रम अधिकार उल्लङ्घन गरेको आरोपमा ‘सेतो गुराँस’ विवादमा

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं: सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीहरूलाई नियोजित र अन्यायपूर्ण ढङ्गले हटाउने, तलब काट्ने, अभद्र व्यवहार गर्ने तथा गर्भवती भएकै कारण रोजगारीबाट हटाउने जस्ता गम्भीर श्रम शोषण गरेको खुलासा भएको छ।

 

चार वर्षे परियोजनाका लागि करारमा नियुक्त गरिएका कर्मचारीहरूलाई एक वर्ष नपुग्दै विभिन्न बहाना बनाएर हटाइएको र यसबारे स्थानीय तहसँग समेत कुनै समन्वय नगरेको पीडित तथा जनप्रतिनिधिहरूले बताएका छन्।सेतो गुराँसले रामेछापका तीन स्थानीय तह मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा इसिडी हार्मोनी परियोजना सञ्‍चालन गर्दै आएको छ ।

 

सन् २०२५ मार्चदेखि शुरु गरी सन् २०२९ मार्चसम्म सञ्‍चालन गर्ने गरी तीन वटै स्थानीय तहसँग सम्झौता गरी सञ्‍चालनमा रहेको यस परियोजनाले वि.सं. २०८२ कात्तिकमा तीन वटै स्थानीय तहमा गरेर २५ जना मेन्टर र तीन जना बालविकास संयोजक गरी २८ जना कर्मचारी भर्ना गरेको थियो ।४ वर्षे परियोजनाको लागि कर्माचारी नियुक्त गरेको सेतो गुराँसले एक वर्षको अवधिमै करार सम्झौता नवीकरण नगरी विभिन्‍न बहाना बनाएर कर्मचारीहरुलाई हटाएको हो ।

 

सेतो गुराँसकी परियोजना अधिकृत मैया वस्‍नेत र लेखा सहायक पौडेलद्वारा कर्मचारी माथि अभद्र व्यवहार

 

सेतो गुराँस राष्ट्रिय बालविकास सेवा कार्यालय रामेछापकी परियोजना अधिकृत मैया बस्‍नेत र लेखा सहायक करुणा पौडेले आफूहरु माथि अभद्र व्यवहार गरेको निवर्तमान इसिडी मेन्टरहरुले बताएका छन् ।

 

सेतो गुराँस राष्ट्रिय बालविकास सेवामार्फत लिखुतामाकोशी गाउँपालिकामा कार्यरत रहेकी निवर्तमान इसिडी मेन्टर समेत रहेकी स्थानीय धनमाया खड्काले संस्थाकी लेखा सहायक करुणा पौडेलले कार्यालय भित्रै आफू माथि अभद्र व्यवहार गरेको आरोप लगाउनुभयो । लेखा सहकायक पौडेलले नियमानुसार पाउने यातायात खर्च लिनको लागि फारम भर्न खोज्दा उल्टै आफूमाथि अभद्र व्यवहार गरेको उहाँले बताउनुभयो ।

 

उहाँले भन्‍नुभयो,”त्यो दिन उहाँहरुले म माथि गरेको व्यवहारले संस्थाबाट बाहिर निक्लिएर घर फर्किने बेलामा कुन गाडीमा आए भन्‍ने कुरा समेत मलाई थाहा भएन, मलाई धेरै तनाव भएको थियो । मैले गाडी भाडाको फारम भर्छु म्याम भन्दा करुणा म्यामले “तपाईले भर्न पाउनुहुन्‍न, के आधारले फारम भर्नुहुन्छ, तपाइँले गाडी भाडा केही पनि पाउनुहुन्‍न । काम केही गर्नु छैन, सुविधा मात्रै लिन खोजेर हुन्छ भन्‍नुभयो” ।”

 

यसैगरी परियोजना अधिकृत मैया बस्‍नेतले बिना कारण आफ्नो आधार तलबबाट विना कारण आठ हजार रुपैयाँ काटेको बताउनुभयो । आफू विद्यालयमा गएर काम गरेको दिनको समेत टाइमसिटमा नभर्नु हामी आफैँ भरिदिन्छौँ खाली पठाउनु भनेर परियोजना अधिकृतले भनेपछि खाली पठाएको उहाँले बताउनुभयो । त्यसपछि परियोजना अधिकृत वस्‍नेतले नियोजित रुपमा आफूहरुको तलब समेत कटाएको खड्काले बताउनुभयो । उहाँले भन्‍नुभयो,” मलाई कार्य सम्पादन भरेर पठाउने बेलामा परियोजना अधिकृत मैया वस्‍नेतले १ गतेदेखि ८ गतेसम्मको आठ दिनको खाली छाड्नु भन्‍नुभयो तर पछि ८ हजार तलब काट्नुभयो ।”

 

यसैगरी निवर्तमान इसिडी मेन्टर सीता कार्कीले पनि परियोजना अधिकृत मैया वस्‍नेतले नियोजित रुपमा आफूहरुको तलब काटेको बताउनुभयो । उहाँले बिना कारण एक महिनाको आधार तलबबाट तीन हजार रुपैयाँ कटाएको बताउनुभयो । वस्‍नेतले काम गरेको दिनको समेत तलब काटेको उहाँको आरोप छ । कार्कीले भन्‍नुभयो,”काम गरेको दिनको पनि टाइम सिटमा खाली राखेर पठाउनु भन्‍नुभयो, खाली नै राखेर पठाउनु पर्ने रहेछ होला भनेर मैले पठाएँ तर पछि थाहा भयो हाम्रो तलब काट्न पो रहेछ ।”

 

परियोजना अधिकृत वस्‍नेतले विभिन्‍न समयमा पटक-पटक संस्थामै कार्यरत रहेका कर्मचारीसँग नाम जोडेर विभिन्‍न आरोप लगाउँदै नियोजित रुपमा आफ्‍नो चरित्र हत्या गर्ने गरेको लिखुतामाकोशी गाउँपालिका वडा नं. ५ की निवर्तमान इसिडी मेन्टर उषा श्रेष्ठले बताउनुभयो । अहिले आएर विना कारण कुनै जानकारी नै नदिई मेन्टरबाट हटाएर आफूमाथि संस्थाले झन अन्याय गरेको उहाँले बताउनुभयो । यस प्रकरणका विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने उहाँले बताउनु भएको छ ।

 

गर्भवती भएकै कारण कर्मचारीबाट हटाइयो

 

सेतो गुराँसले गर्भवती भएको कारण देखाएर एक महिलालाई नियोजित रुपमा अन्यायपूर्ण ढङ्गले हटाएको छ । निवर्तमान इसिडी मेन्टर सीता कार्कीले गर्भवती भएको कारण संस्थाले आफूलाई मेन्टरबाट हटाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘मलाई किन हटाउनु भएको भन्दा परियोजना अधिकृतले तपाइँ प्रिगनेन्ट हुनुहुन्छ । तपाईको बच्चा हुन्छ, अप्ठेरो हुन्छ हिड्नलाई काम गर्न सक्नु हुन्न भनेर हटाएको भन्नुभयो । मैले बच्चा पाए नि काम गर्न सकिहाल्छु नि, बच्चा पाउने बित्तिकै के हुन्छ र भने ।’ कामको कमजोरी त होइन गर्भवती भएकै कारण हटाएको हो भन्नुभयो मैया म्यामले । उहाँले भन्नुभयो ।

 

तर सेतो गुराँस राष्ट्रिय बालविकास सेवा कार्यालय रामेछापकी परियोजना अधिकृत मैया वस्नेतले भने कसैले पनि दुव्र्यवहार नगरेको बताउनुभयो । उहाँले कसैको तलब पनि नकटाएको बताउनुभयो ।

 

गर्भवती भएकै कारण हटाइनु संविधानको धारा ३८ महिलाको हक र श्रम ऐन २०७४ को दफा ३३ मातृत्व संरक्षणको ठाडो उल्लङ्घन भएको कानुनविद्हरू बताउँछन्। कानुनले गर्भावस्था वा सुत्केरी अवस्थालाई रोजगारी समाप्त गर्ने आधार बनाउन निषेध गरेको छ।

 

पालिका प्रमुख भन्छन्: कर्मचारी हटाउने विषयमा हामीसँग समन्वय नै भएन

 

यता रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले कर्मचारी हटाउने विषयमा संस्थाले आफूहरुसँग कुनै पनि समन्वय नगरेको बताउनुभयो । संस्थाले अहिलेसम्म समन्वय नगरेको बताउँदै उहाँले परियोजना अधिकृतलाई बोलाएर समन्वय नभएको विषयबारेमा छलफल हुँदा आगामी दिनमा समन्वय गर्ने जवाफ दिएको बताउनुभयो । कर्मचारी हटाएको विषयमा कुरा बुझ्दा गर्भवती र सुत्केरी महिलालाई काम गर्न सक्दैनन् भनेर हटाएको जवाफ संस्थाको कर्मचारीबाट आएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

 

यसैगरी मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले पनि कर्मचारी हटाउने विषयमा समन्वय नभएको बताउनुभयो । यस्तै लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले पनि समन्वय नै नगरी कर्मचारी हटाएको बताउनुभयो । कुनै परामर्श समेत नगरी संस्थाले आफूखुसी कर्मचारी हटाएको अध्यक्ष महतको भनाई छ । आफ्नो पालिकामा २ जना मेन्टर र एक जना बालविकास संयोजक गरी तीन जना हटाएको उल्लेख गर्दै अध्यक्ष महतले उनीहरुलाई हटाउने बेलामा संस्थाको तर्फबाट कुनै समन्वय नभएको बताउनुभयो ।

 

यता जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले भने पीडितले उजुरी लिएर आएको खण्डमा छानीबिन गरी दोषी देखिए कारबाही गरिने बताउनुभयो ।

nepalijanatakhabar

समबन्धित समाचार