काठमाडौं: नेपाली लोकसंगीतको बजारमा गीतहरूको संख्या बढ्दै गए पनि समाजको वास्तविक पीडा बोल्ने सिर्जनाहरू भने अझै कमै छन्। लाइभ दोहोरीमार्फत आफ्नै छुट्टै पहिचान बनाइसकेका गायक सुमन परियारले यस्तै यथार्थलाई समेटेको नयाँ गीत ‘डिप्रेसन’ सार्वजनिक गरेका छन्।
सुमन परियार र गायिका मेनुका सोनीको स्वर रहेको यस गीतका शब्द र संगीत पनि सुमनकै हुन्। “तिमीले नाता अर्कैसँग जोडेमा डिप्रेसनमै जान्छु, साथ छोडेमा…” जस्ता भावनात्मक पंक्तिहरूले प्रेममा हुने असुरक्षा, डर र मानसिक पीडालाई सिधै उजागर गर्छन्। प्रेम टुटेपछि युवाको मनमा पर्ने गहिरो असरलाई गीतले सहजै महसुस गराउँछ।
गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ बिमल छिनालले गरेका छन्, जसले गीतलाई अझ प्रभावशाली बनाएको छ। भिडियोमा सुमन परियार र सञ्चिता बोलखेको अभिनय सरल तर भावनात्मक देखिन्छ, जसले कथालाई थप जीवन्त बनाएको छ।
प्रेममा धोका पाएपछि पछिल्लो समय धेरै नेपाली युवा मानसिक दबाब र डिप्रेसनतर्फ धकेलिँदै गएको यथार्थलाई गीतले स्पष्ट रूपमा चित्रण गरेको छ। गम्भीर विषयवस्तु भए पनि निर्देशक जेर्री भण्डारीले यसलाई नृत्यात्मक शैलीमा प्रस्तुत गरेका छन्, जसले पीडालाई फरक ढंगले अभिव्यक्त गरेको देखिन्छ। भिडियोको सम्पादन तथा कलरिङ सुमन कोइरालाले गरेका हुन्।
युवा पुस्तालाई लक्षित गरेर तयार गरिएको ‘डिप्रेसन’ गीत मनोरञ्जनसँगै चेतनाको सन्देश बोकेको सिर्जनाका रूपमा प्रस्तुत भएको छ। मेनुका सोनी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले प्रेम, पीडा र मानसिक स्वास्थ्यबारे सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रया दिनुहोस्