काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसभित्र संसदीय दलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा राजनीतिक बहस तीव्र बनेको छ। संसदमा नयाँ शक्ति सन्तुलन स्पष्ट हुँदै जाँदा पार्टीभित्र नेतृत्व चयनलाई लिएर विभिन्न तहमा छलफल र राजनीतिक समीकरणको चर्चा बढ्दै गएको हो।
यस निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट प्राप्त गर्दै कुल ३८ सिटसहित संघीय संसदमा आफ्नो उपस्थिति कायम गरेको छ। परिणाम सार्वजनिक भएसँगै पार्टीभित्र संसदीय दलको नेतृत्वबारे चासो र चर्चा बढेको देखिन्छ।
विशेषगरी नुवाकोटबाट कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत पराजित भएपछि संसदीय दलको नेताको विषय थप चासोको केन्द्र बनेको छ। यसैबीच समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने वरिष्ठ नेता अर्जुनसिंह केसीको नाम पनि सम्भावित दाबेदारका रूपमा चर्चामा आएको छ।
यसै क्रममा पाँचथरबाट प्रतिनिधित्व गर्ने कांग्रेसका पूर्व सह–महामन्त्री भिष्मराज आङदेम्बे पनि संसदीय दलको नेताका लागि बलियो दाबेदारका रूपमा उभिँदै गएको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका आङदेम्बे लोकतान्त्रिक मूल्य, संगठन निर्माण र समावेशी नेतृत्वको पक्षमा आवाज उठाउँदै आएका नेताका रूपमा चिनिन्छन्।
विशेषगरी जनजाति समुदायबाट समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेको उनको प्रतिनिधित्वले पनि वर्तमान राजनीतिक सन्दर्भमा नेतृत्व सन्तुलन र समावेशिताको दृष्टिले उनलाई महत्वपूर्ण विकल्पका रूपमा हेरिएको विश्लेषण गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार अहिले संसदभित्र प्रभावकारी रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने नेतृत्व आवश्यक देखिएको छ। त्यस सन्दर्भमा अनुभवी र समन्वयकारी नेतृत्वको खोजी भइरहेको बताइन्छ।
यद्यपि संसदीय दलको नेताबारे कांग्रेसले औपचारिक निर्णय भने गरिसकेको छैन। आगामी दिनमा हुने आन्तरिक छलफल र सहमतिपछि संसदीय दलको नेतृत्व टुंगो लाग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रया दिनुहोस्