एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी, प्रवासी नेपालीका अधिकारका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं , गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्व चयनका लागि वर्तमान उपाध्यक्ष खगेन्द्र न्यौपानेले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।

बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। एनआरएनएको १२औँ विश्व महाधिवेशन आगामी मार्च १४, १५ र १६ मा काठमाडौंमा हुँदैछ, जहाँबाट संघको नयाँ नेतृत्व चयन गरिनेछ।

मलेसिया र नेपालका सफल व्यवसायीका रूपमा परिचित न्यौपाने लामो समयदेखि प्रवासमा रहेर नेपाली समुदायको हितका लागि सक्रिय रूपमा काम गर्दै आएका अभियन्ता हुन्। मलेसियामा बसेर पनि उनले नेपाल र नेपालीका हितसँग जोडिएका विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा उल्लेखनीय योगदान दिँदै आएका छन्।

एनआरएन अभियानलाई केवल पदको प्रतिस्पर्धा नभई जिम्मेवारी र सेवा भावको माध्यमका रूपमा लिँदै आएका न्यौपानेले यसपटक पनि संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्। प्रारम्भिक चरणमा अध्यक्ष पदको दौडमा रहने तयारीमा रहेका उनले संस्थाभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिँदै विभिन्न अभियन्ताको आग्रहलाई सम्मान गरेर उपाध्यक्ष पदमै पुनः उम्मेदवारी दिने निर्णय गरेका हुन्।

‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका न्यौपानेले ‘एक मन, एक संगठन’ को अवधारणा अघि सारेका छन्। संस्थाभित्र देखिएका मतभेद र विभाजनलाई अन्त्य गर्दै विश्वभर रहेका गैरआवासीय नेपालीलाई एउटै साझा मञ्चमा एकताबद्ध गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन्।

प्रवासमा रहेका नेपाली श्रमिकहरूको हक–अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका न्यौपानेले यो अभियानलाई अझै शुद्ध, सशक्त र बृहत् बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका छन्। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, श्रम अधिकार र सम्मानजनक कामको वातावरण सुनिश्चित गर्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उनको धारणा छ।

त्यसैगरी गैरआवासीय नेपाली नागरिकता र प्रवासी नेपालीको मताधिकारको विषयलाई पनि उनले प्रमुख एजेन्डा बनाएका छन्। संविधानले व्यवस्था गरेको अधिकारको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग समन्वय गरी ठोस पहल गर्ने उनको प्रतिबद्धता छ।

न्यौपानेका अनुसार एनआरएनए केवल प्रवासी नेपालीको संगठन मात्र नभई मातृभूमिसँगको सम्बन्धलाई सुदृढ बनाउने साझा सेतु पनि हो। यही भावनाका साथ प्रवासी नेपालीको अनुभव, सीप, पूँजी र नेटवर्कलाई नेपालसँग जोड्दै देशको समृद्धिमा योगदान पुर्‍याउने लक्ष्यका साथ आफू अभियानमा रहेको उनले बताएका छन्।

लामो समयदेखि प्रवासमा रहेर सामाजिक, आर्थिक र संस्थागत क्षेत्रमा सक्रिय न्यौपानेले एनआरएनएलाई अझ विश्वासिलो, परिणाममुखी र एकताबद्ध संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

nepalijanatakhabar

समबन्धित समाचार