काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। सोमबार साँझ आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रधानमन्त्री कार्कीले डा. शर्माको नेतृत्वमा चयन भएको टिमलाई सफल कार्यकालको शुभकामना दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले एकता र सहकार्यभन्दा ठूलो शक्ति अरू केही नहुने उल्लेख गर्दै गैरआवासीय नेपाली संघले एउटै मञ्च र एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रतिबद्धता जनाएको बताएकी छन्।
उनले विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीलाई बधाई दिँदै डा. हेमराज शर्मा नेतृत्वको टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। यसअघि प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली संघको १२औं विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गरेकी थिइन्।
डा. शर्मा गैरआवासीय नेपाली संघमा १३ वर्षपछि पहिलो पटक सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्। काठमाडौंमा तीन दिनदेखि जारी संघको १२औं महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। सम्मेलनले १२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ।




प्रतिक्रया दिनुहोस्