आज चैत्र १८ गते बुधवारको हेर्नुस् राशिफल सेयर गरी पाथिभारा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

वि.सं. २०८२ चैत्र १८ गते बुधवार तदनुसार ई. सं. २०२६ अप्रिल ०१ तारिख, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२७, शाके १९४८, नेपाल सं. ११४६, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:१२ बजे, चन्द्रोदय : साँझ ०५:३० बजे र चन्द्रास्त : भोलि बिहान ०५:०७ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०६:२७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे, चैत्र शुक्लपक्ष (चौलाथ्व) चतुर्दशी तिथि, बिहान ०६:४२ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि,उत्तराफाल्गुनी नक्षत्र, दिउँसो ०४:०३ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त),बृद्धि योग, दिउँसो ०२:४८ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा वणिज करण बिहान ०६:४२ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण बेलुका ०६:५१ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : प्रवर्‌द्ध, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम (बिहान ०६:४२ बजेसम्म), त्यसपछि वायव्य, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०६:४२ बजेसम्म, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : श्री पूर्णिमा व्रत, विश्व मूर्ख दिवस (अप्रिल फूल डे), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

 

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १९ गते : श्री हनुमान् जयन्ती, पूर्णिमा व्रत, वैशाख स्नान प्रारम्भ, बाइजुराज जन्मोत्सव (कृष्णप्रणामी), बालाजु बाईस धारा मेला, मन्वादि, लमजुङ यलुङ पोखरी मेला, बैतडी विश्वनाथ मन्दिरमा कोटिहोम मेला समापन, बौद्ध तेमाल जात्रा, ल्हुतिपून्हि, ल्हुतिस्नान, कथा दिवस, अन्तर्राष्ट्रिय बाल पुस्तक दिवस, २० गते : विशालनगरमा वैष्णवीदेवी यात्रा, ललितपुरमा मत्स्येन्द्रनाथ स्नान, बुँगद्यह्नव, सहकारी दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), २१ गते : साँखु यात्रा, सकोयात

 

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

 

व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने समय हो, तर रिस, आवेग र क्रोधको पारो छिट्टै चुलिन सक्छ, कन्ट्रोल गर्नुहोला । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ रातो/हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्‌ने दिन हो । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रतिद्वन्द्वीले हार खानेछन्, मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्‌नो सही पहिचान कायम गर्न सकिने छ । आफ्‌नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्‌द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित हुनेछ । पिता वा पितृतुल्य व्यक्तिको सल्लाह वा सुझावको अम्मल गरी अघि बढेमा फाइदा हुनेछ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गङ्गाधराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सोमजाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

धार्मिक/सांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सोमप्रियकराय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

चिन्ता/शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्‌ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्‌ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्‌ने प्रयास गर्नुहोला । आजको दिन घरायसी र व्यावहारिक समस्याका बारेमा घोत्लिने समय छ, एक्लै बस्न र घोरिन मन लाग्छ, संयमित हुनु राम्रो हुन्छ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ राधाकृष्णाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

nepalijanatakhabar

समबन्धित समाचार