काठमाडौं : अध्यागमन विभागले नेपाली नागरिकलाई शर्त राखेर प्रस्थान अनुमति दिने दुई कर्मचारीलाई जिम्मेवारीबाट हटाएको जनाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपालीको राहदानीमा केरमेट गरेको आरोपमा ती दुई अध्यागमन अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हटाइएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
उनीहरूमाथि आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ।
यूएई जान लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै हस्तलिखित रूपमा “Employment is strictly prohibited. Visit till” र “Not allowed to work UAE” जस्ता शब्द लेख्न थालिएपछि यात्रुहरूले गुनासो र विरोध गरेका थिए।
जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका केही नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै “Employment is strictly prohibited. Visit till १०/६/२०२६” लेखिएको विषयमा मिति २०८२/१/३ को निर्णयअनुसार छानबिन समिति गठन गरिएको छ। नेपाली नागरिकलाई शर्त राखेर प्रस्थान अनुमति दिने कुनै नीति वा निर्णय अध्यागमन प्रशासनसँग नभएकाले प्रचलित कानुन र विभागीय निर्णयविपरीत काम गर्ने ती दुई अधिकृतलाई जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको छ।’
विज्ञप्तिमा थप भनिएको छ, अनावश्यक कागजात माग्ने र तजबिजका आधारमा निर्णय गर्ने जस्ता अनियमितता नियन्त्रण गर्न सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि सरल र व्यवस्थित मापदण्ड लागू गरेको छ।
यसअघि पनि विभागले स्पष्ट पारेको थियो कि कानुनभन्दा बाहिर गएर शर्त राखी प्रस्थान अनुमति दिने कुनै नीति नभएकोले त्यस्ता गैरकानुनी अभ्यास गर्ने कर्मचारीमाथि आन्तरिक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।





प्रतिक्रया दिनुहोस्