नेपालमा बाढी–पहिरोको विपत्तिपछि एनआरएनए जोहोरले तिज विशेष कार्यक्रम स्थगित गर्दै ५० हजार सहयोग गर्ने।

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट उत्पन्न गम्भीर मानवीय संकटलाई मध्यनजर गर्दै आगामी १३ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने भनिएको तिज विशेष कार्यक्रमसहित पूर्वनिर्धारित सम्पूर्ण मनोरञ्जनात्मक कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ।

 

मातृभूमि नेपालमा हालै आएको अप्रत्याशित विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायत देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको र धेरै नागरिक प्रभावित भएको भन्दै समितिले मनोरञ्जनात्मक कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको जनाएको छ।

 

संस्थाले बाढी तथा पहिरोपीडितहरूको उद्धार, राहत र सहयोगका लागि संस्थागत आर्थिक सहयोगस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

 

एनआरएनए क्षेत्रीय समिति जोहोरले यस दुःखद परिस्थितिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढी तथा पहिरोमा बेपत्ता भएकाहरूको सकुशल उद्धार, प्रभावित परिवारको शीघ्र राहत तथा पुनर्स्थापनाको कामना गरेको छ।

 

गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति, जोहोरले जारी गरेको सूचनामा भनिएको छ, “नेपालमा उत्पन्न गम्भीर र दुःखद परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि सबै मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरी पीडितहरूको सहयोगमा संस्थागत रूपमा आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ।”

 

एनआरएनए जोहोरको उक्त निर्णयले विदेशमा रहेका नेपाली समुदाय पनि मातृभूमिमा परेको प्राकृतिक विपत्तिको घडीमा सहयोग र एकताका साथ पीडितहरूको साथमा रहेको सन्देश दिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर सचिव विनय हमालले नेपाली जनता खबर लाई जनाकारी दिनुभयो।

 

nepalijanatakhabar

समबन्धित समाचार