क्वालालम्पुर । मलेसियन ट्रेड्स युनियन कांग्रेस (MTUC) ले आगामी बजेटमार्फत देशमा कार्यरत कामदारको न्यूनतम मासिक तलब बढाएर RM३,१०० पुर्याउन सरकारसँग माग गरेको छ।
MTUC का अनुसार हाल कामदारले पाइरहेको पारिश्रमिक उनीहरूको उत्पादकत्व, श्रम योगदान र कम्पनीहरूले हासिल गरिरहेको नाफाको वृद्धिसँग पर्याप्त रूपमा मेल खाएको छैन। बढ्दो जीवनयापन खर्चलाई समेत ध्यानमा राख्दै सरकारले न्यूनतम तलब पुनरावलोकन गर्नुपर्ने MTUC को माग छ।
MTUC का महासचिव कमरुल बहारिन मन्सोरले आगामी बजेटमार्फत कामदारको तलब वृद्धि गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।
उनका अनुसार निजी क्षेत्रलाई आफ्ना कर्मचारीलाई उचित र आकर्षक पारिश्रमिक उपलब्ध गराउन प्रोत्साहित गर्नुअघि सरकारसँग सम्बन्धित कम्पनी (GLC) तथा सरकारसँग सम्बन्धित लगानी कम्पनी (GLIC) ले आफ्ना कामदारलाई राम्रो तलब दिएर उदाहरण प्रस्तुत गर्नुपर्छ।
MTUC को यो माग कार्यान्वयन भएमा मलेसियामा कार्यरत नेपालीसहित विभिन्न देशका विदेशी श्रमिकको पारिश्रमिकमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्नेछ। तर, RM३,१०० न्यूनतम तलब बनाउने विषय हाल MTUC को माग मात्र हो। मलेसिया सरकारले यससम्बन्धी औपचारिक निर्णय वा घोषणा गरिसकेको छैन।
मलेसियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले आगामी बजेटमा सरकारले न्यूनतम तलबसम्बन्धी विषयलाई कसरी सम्बोधन गर्छ भन्ने विषय नेपाली श्रमिकका लागि पनि चासोको विषय बनेको छ।




प्रतिक्रया दिनुहोस्