मलेसियाको जोहोरमा एक सातामै १०८ विदेशी नागरिक स्वदेश फिर्ता, ४ नेपाली पनि परे

वायु प्रधुशन
nepalijanatakhaba

जोहोरबारु, १७ नोभेम्बर २०२६। मलेसियाको जोहोर राज्यस्थित पेकान नेनास अध्यागमन हिरासत केन्द्रले नोभेम्बर महिनाको दोस्रो सातामा विभिन्न देशका १०८ जना विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाएको छ।

 

मलेसिया अध्यागमन विभाग, जोहोर राज्यको जानकारीअनुसार स्वदेश फिर्ता पठाइएकामध्ये सबैभन्दा धेरै इन्डोनेसियाका ४१ जना रहेका छन्। त्यस्तै बंगलादेशका २१, म्यानमारका १९, पाकिस्तानका १२ र नेपालका ४ जना रहेका छन्।

 

यसैगरी भियतनामका ३, चीनका २, भारतका २ तथा सिंगापुर, इजिप्ट, नाइजेरिया र थाइल्यान्डका एक–एक जना नागरिकलाई पनि स्वदेश फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ।

हिरासतबाट स्वदेश फिर्ता पठाइएका सबैलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA १ र २), सुल्तान इस्कन्दर भवन, स्तुलाङ लाउत फेरी टर्मिनल तथा पासिर गुडाङ फेरी टर्मिनलमार्फत आ–आफ्नो देश पठाइएको हो।

 

अध्यागमन विभागका अनुसार स्वदेश फिर्ता गरिएका सबैसँग वैध राहदानी रहेको थियो। केही व्यक्तिका हकमा सम्बन्धित देशका दूतावासले उपलब्ध गराएको अस्थायी यात्रा कागजात (Emergency Travel Document) प्रयोग गरिएको थियो।

 

स्वदेश फिर्तीका लागि आवश्यक हवाई टिकटको खर्च सम्बन्धित व्यक्तिको व्यक्तिगत बचत, परिवारका सदस्यको सहयोग तथा केही विशेष अवस्थामा सम्बन्धित देशको दूतावासले व्यहोरेको विभागले जनाएको छ।

स्वदेश फिर्ता गरिएका सबै व्यक्तिलाई मलेसियाको अध्यागमन विभागको प्रणालीमा कालोसूची (Blacklist) मा राखिएको छ। तोकिएको अवधिसम्म उनीहरूलाई कुनै पनि प्रयोजनका लागि पुनः मलेसिया प्रवेश गर्न अनुमति नदिइने जनाइएको छ।

 

यसैबीच, हिरासतमा रहेका व्यक्तिहरूको स्वदेश फिर्तीसम्बन्धी टिकट खरिदलगायत आवश्यक प्रक्रिया पेकान नेनास अध्यागमन हिरासत केन्द्रमा रहेको सेवा काउन्टरबाट गर्न सकिने विभागले स्पष्ट पारेको छ। उक्त प्रक्रियाका लागि कुनै पनि अतिरिक्त सेवा शुल्क नलाग्ने पनि विभागले जनाएको छ।

 

यससम्बन्धी थप जानकारीका लागि पेकान नेनास अध्यागमन हिरासत केन्द्रको रेकर्ड तथा स्थानान्तरण इकाइको फोन नम्बर ०७-६९९३५४० मा सम्पर्क गर्न वा अध्यागमन विभागको अनलाइन सोधपुछ प्रणाली https://eapp.imi.gov.my/tanya/create मार्फत जानकारी लिन सकिनेछ।

स्रोत: मलेसिया अध्यागमन विभाग, जोहोर राज्य।

nepalijanatakhabar

समबन्धित समाचार