राष्ट्रिय स्वाधीनताका लागि गठबन्धन दश/पन्ध्र वर्ष नै कायम रहने छ प्रधानमन्त्री देउवा

अछाम – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन दश/पन्ध्र वर्ष नै कायम रहने भनेका छन् । संविधान, लोकतन्त्र, विधिको शासन र राष्ट्रिय स्वाधीनताका लागि गठबन्धन कायम रहने प्रधानमन्त्री देउवाले भन्नु भयो।

आज अछामको सदरमुकाम मंगलसेनमा भएको सत्तारुढ गठबन्धन दलको चुनावी कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनु भएको छ । अछामको चौरपाटी र मंगलसेनमा गरी दुई कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कांग्रस सभापति देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक संसद विघटन गरी संविधान उल्लंघन गर्नुभएकोले यो गठबन्धन बनाउनु परेको समेत बताउनु भयो ।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू निरन्तर लागिरहेको भन्दै अब पश्चिम सेतीको निर्माण कार्य पूरा हुने पनि बताउनु भएको छ । पश्चिम सेती, महाकाली पञ्चेश्वर, कैलाशखोला लगायतका जलविद्युत् आयोजना पूरा गरी भारतलाई बिजुली बेचेर आर्थिक सम्बृद्धि बनाउने तर्क समेत गर्नु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका रामप्रसाद तिमिल्सैना, अछाम जिल्लाका गठबन्धनका उम्मेदवार पुष्पबहादुर शाह, अक्कल रावल, मानबहादुर रावल लगायतले आफ्ना प्रतिबद्धता राख्नुभएको थियो ।

सम्बन्धित समाचार