दार्चुला । दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो ।
बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ । नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भयो । उनका अनुसार विवादित क्षेत्रमा तत्काल काम पनि सुरु नगर्ने सहमति भएको छ ।
भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच आइतबार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको थियो र आज भएको छलफलमा १० दिनभित्र नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको हो ।
खलङ्गाका स्थानीयवासीको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन भोलिदेखि १० दिनको समय दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताए छन् ।
नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यकबाहेकका अस्थायी निर्माण गरेका संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमतिसमेत भएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । प्रजिअ उपाध्यायका अनुसार तोकिएको समय १० दिनभित्र सहमतिअनुसार काम गरे नगरेको अवस्थालाई हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने छ ।
खलङ्गास्थित बाङ्गाबगर क्षेत्रको पारिपट्टि भारतले महाकाली नदी नेपालतर्फ फर्किने गरी निर्माण गरिरहेको तटबन्धको चौतर्फी चर्चा भएको छ । नेपाल सरकारले कूटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले हिजो महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमनसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्