नुवाकाेट – नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बिहीवार बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा तारकेश्वर गाउँपालिका–६ भमराका ६२ वर्षीय रामप्रसाद अर्याल, उहाँकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् ।
दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डाै पठाइएको छ ।
विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंह जाँदै गरेको बा २ ख ८४५ नम्बरकाे बस विदुर–१२ चैनपुरकाे पिपलबोट भन्ने ठाउँमा दुर्घटना भएकाे नुवाकोटका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्